• १२ असोज २०८१, शनिबार

थ्रिस्टारविरुद्ध एपिएफले दियो एन्फामा उजुरी

blog

एपिएफका खेलाडी । फाइल तस्बिर

काठमाडौं, जेठ २८ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रिस्टार क्लबले भिसा विनै दुई जना विदेशी खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा उजुरी दिएको छ ।

एपिएफले आइतबार एन्फालाई बुझाएको उजुरी पत्रमा थ्रिस्टारले जावलाखेलविरुद्ध अन्तिम खेलमा स्ट्राइकर मार्टिन्स अजइ र रक्षक पिटर सेगुनलाई भिसा विना मैदानमा उतारेको उल्लेख गरेको छ । पत्रमा एपिएफले मार्टिन्सको जेठ १७ तथा पिटरको जेठ २३ मा भिसा सकिएको अध्यागमन विभागको प्रमाणसहित एन्फामा उजुरी पत्र पेस गरेको हो ।

मार्टिन्सले भिसा विनै चर्च ब्वाइज युनाइटेविरुद्ध पनि खेल्नुभएको थियो । उजुरी पत्रमा एपिएफले दोषी उपर कडा कारबाहीको माग पनि गरेको छ । एपिएफले आवश्यक कारबाही नभएको खण्डमा थप कानुनी उपचारका लागि स्थानीय न्यायलय, एसियाली फुटबल महासङ्घ (एएफसी) र विश्व फुटबल महासङ्घ (फिफा) मा समेत लिखत निवेदन दिने उल्लेख गरेको छ ।

दशरथ रङ्गशालामा शनिबार साँझ भएको लिगको अन्तिम खेलमा थ्रिस्टारले जावलाखेल यूथ क्लबलाई १–० गोलले हराउँदै शीर्ष डिभिजन कायम राखेको थियो । थ्रिस्टारको उक्त जितले एपिएफ क्लब रेलिगेसन (‘बी’ डिभिजन) मा परेको थियो । थ्रिस्टारलाई रेगिेसन जोगाउन जावलाखेलविरुद्धको जित आवश्यक थियो ।