सिराज खान
नेपालगञ्ज, जेठ २८ गते। बढ्दो ट्राफिक समस्यालाई ध्यानमा राखेर नेपालगञ्जका पाँच वटा मुख्य चोकमा ‘अत्याधुनिक ट्राफिक लाइट’ जडान कार्य सुरु भएको छ।
सडक डिभिजन कार्यालयले नेपालगञ्ज सुर्खेत रोडको बढी आवागमन हुने गणेशमान चोक, बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु गरेको हो।
पाँचै ठाउँमा एक महिनाभित्रै जडान कार्य सम्पन्न हुने गरी काम सुरु गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। ‘अत्याधुनिक ट्राफिक लाइट’ जडान गर्ने कार्यको सुरुवात गणेशमान चोकबाट गरिएको छ। सुरुमा तार बिछ्याउने काम भइरहेको छ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईको विशेष पहलमा पारित गरिएको योजना अनुसार सुर्खेत रोडको मुख्य पाँच चोकमा ट्राफिक लाइट जडान गर्न सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो।
उहाँले आवागमन बढी हुने व्यस्त चोकमा ट्राफिक लाइट लगाएपछि ट्राफिक व्यवस्थापन सहज हुने विश्वास व्यक्त गर्दै यो योजना ल्याइएको बताउनुभयो।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले सडक विभागको ठेक्का व्यवस्थापनमा ट्राफिक लाइट जडानको काम भइरहेको बताउँदै सडक डिभिजनको कार्य क्षेत्र परेकाले आफूहरूले सहजीकरण गरिरहेको जानकारी दिनुभयो।
उहाँले एक चोकको लाइट जडानको काम सकिएपछि मात्रै अर्को ठाउँमा काम सुरु गर्ने बताउनुभयो। असार मसान्तसम्म पाँचै ठाउँको काम सकिने उहाँको भनाइ छ।