• ११ मंसिर २०८१, मङ्गलबार

मैत्रीपूर्ण खेलका लागि फुटबल टोलीको बिदाइ

blog

राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिँदै । तस्बिर : विकास द्वारे

काठमाडौं, जेठ २८ गते । भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औँ साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले फिलिपिन्ससँग जेठ ३२ गते मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार फिलिपिन्स जाने टोलीको बिदाइ गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङलगायतले बिदाइ गर्नुभयो । नेपाली टोली सोमबार फिलिपिन्स प्रस्थान गर्नेछ ।

मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट भारत जानेछ । साफअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेललाई नेपालले आफ्नो गल्ती र कमजोरी सुधार गर्ने अवसरको रूपमा लिएको छ । मैत्रीपूर्ण खेल खेल्न जानुअघि नेपालले आइतबार बिहान मात्र एकल टोलीको रूपमा दशरथ रङ्गशालामा अभ्यास गरेको थियो । शहीद स्मारक ‘ए’ डिभिजन लिगका कारण नेपाली टोलीले आवश्यक तयारी र बन्द प्रशिक्षण गर्न पाएको छैन । 

मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि एन्फाले बिहीबार मात्र २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिसकेको छ । टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अनुभवी र ‘ए’ डिभिजन लिगमा राम्रो खेलिरहेका खेलाडीलाई टोलीमा सामेल गर्नुभएको छ । रक्षक विमल पाण्डे, सीमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउनुभएको छ । 

नेपाल दक्षिण एसियाकै ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले दुई साताअघि गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी हुन् ।

यस्तै समूह ‘बी’ मा मालदिभ्स, भुटान, बङ्गलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रूपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासङ्घ (फिफा) को निलम्बनका कारण श्रीलङ्काले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।

मालदिभ्समा भएको १३औँ संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो । 

यसपटक तुलनात्मक रूपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन दर्जन रोजाइका खेलाडी विदेश पलायन हुनाले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ । नेपालले असार ६ गते कुवेतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । 

नेपाली टोली 

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ

रक्षक : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

मिडफिल्डर : पूजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने  

स्ट्राइकर : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष् चौधरी र विमल घर्तीमगर ।