• ६ पुस २०८२, आइतबार

थाली बजाएर प्रदर्शन

blog

काठमाडौं, जेठ २८ गते। नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ। 

आइतबार काठमाडौंको बानेश्वरमा थाली बजाएर सरकारको विरोध गरेका हुन्। सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरूलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएको हो।

विरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गङ्गाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलबमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएपछि विरोध गर्नुपरेको बताउनुभयो। 

उहाँले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिनुभयो। उहाँले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनशन बस्ने पनि बताउनुभयो। 

उनीहरूले सङ्घीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरा गर लगायतका माग राखेर विरोध प्रदर्शन गरेका हुन्।