सिराज खान
नेपालगञ्ज, जेठ २८ गते । तातो हावा 'लू' र अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगञ्जका पौडी पोखरी बनेका छन् ।
अत्यधिक गर्मीबाट जोगिन यहाँ निर्माण गरिएका वाटरपार्क र विभिन्न होटल तथा अन्य स्थानमा निर्माण गरिएका स्विमिङ पुलमा पुग्ने नेपाली तथा भारतीयहरू दिनदिनै बढ्दै छन् ।
गर्मी छल्नका लागि भारतका विभिन्न सहर लगायत नेपालगञ्ज, कोहलपुर र सो वरिपरिबाट आउनेहरूले यहाँका पौडीपोखरी र वाटरपार्कहरु अहिले भरिभराउ भएका छन् । नेपालगञ्जको बालेगाउँमा निर्माण गरिएको ‘मेरो प्लानेट’ नामक वाटरपार्कका सञ्चालक डा. ओम मिश्राले बाँके र भारतका विभिन्न स्थानका विद्यार्थीदेखि महिला पुरुष सर्वसाधारणले गर्दा अहिले वाटरपार्क बिहानदेखि बेलुकासम्म भरिभराउ हुने बताउनुभयो ।
उहाँले अत्यधिक गर्मीका कारण वाटरपार्कमा नुहाउन आउनेहरू बढ्दै गएपछि कतिपयले त ठाउँ नै नपाएर फर्किने गरेको समेत बताउनुभयो । डा. मिश्राले भारतबाट गर्मी छल्न आउनेहरू धेरै ठुलो सङ्ख्यामा रहेको बताउनुभयो ।
सोही प्रकारको भिड नेपालगञ्जको वन्डरलैन्ड र कोहलपुरको हैप्पी वर्ड नामक वाटरपार्कमा पनि हुने गरेको छ । चरम गर्मी छल्न टाढा टाढाबाट ती स्थानमा दिनभरि नुहाउनका लागि धेरै मानिस पुग्ने गरेका छन् ।
वाटरपार्क बाहेक नेपालगञ्ज रङ्गशालामा रहेको स्विमिङ पुल, खजुरा मिनी पार्कमा रहेको स्विमिङ पुल लगायत करिब दुई दर्जनभन्दा बढी होटलमा रहेका स्विमिङ पुल पनि गर्मी छल्नेहरूले भरिभराउ छन् । धेरै गर्मी लागेपछि परिवारसहित गर्मी छल्न कोहलपुरस्थित हैप्पी वर्ड वाटरपार्कमा पुग्नुभएका नेपालगञ्ज १ का समद सिद्धिकीले दिनभरि पानीमा खेलेर रमाएपछि बल्ल केही राहात महसुस भएको बताउनुभयो । उहाँले एक दुई दिनमा फेरी पनि अर्को वाटरपार्कमा जाने तयारी भइरहेको बताउनुभयो ।
भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको नेपालगञ्जमा निर्माण गरिएका वाटरपार्कले नेपालका आन्तरिक तथा भारतका पर्यटकलाई ठुलो सङ्ख्यामा आकर्षित गरिरहेका छन् ।
अत्यधिक गर्मीका कारण अहिले सबैभन्दा बढी भिड यहाँका वाटरपार्क र स्विमिङ पुलहरूमा देखिने गरेको छ ।