• १२ पुस २०८१, शुक्रबार

‘...अनि, निजी स्कुल रित्तै बने’

blog

किशोर उमेरमै रहनुभएकी सदीक्षा केसीले स्कुल जीवनमै आफ्नो कापी कलम किन्ने पैसाको आफैँ जोहो गर्नुभएको छ । आफैँ पढ्ने विद्यालयमा सञ्चालित प्रयोगात्मक कक्षामा उत्पादन भएका तरकारीहरू बिक्री गरेर उहाँले पढ्न लेख्नका लागि कापी कलमको जोहो गर्नुभएको हो । “कापी कलम किन्ने पैसा त तरकारी बिक्री गरेर पनि आउने गरेको छ,” कक्षा १२ की छात्रा केसी भन्नुहुन्छ, “कृषि सङ्काय अध्ययन गर्ने हामीले विद्यालयमै प्रयोगात्मक कक्षामा कृषि बाली लगाउने गरिएको छ ।”

केसीले मात्रै हैन अहिले भीमनगर माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ९ देखिकै विद्यार्थीले कुनै न कुनै रूपमा आर्थिक उपार्जन गरिरहेका छन् । स्कुलमै कृषि बाली उत्पादन गरेर विद्यार्थीलाई आयआर्जन गराउन सिकाइएको हो ।  कक्षा १२ कै छात्रा विद्यालयले आफूहरूलाई प्रयोगात्मक कक्षाका लागि तरकारी उत्पादन गर्ने जमिन दिएको र त्यसमा तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको जनकारी दिनुभयो । 

“हामीलाई विद्यालयले हाइटेक प्रविधिवाट टनेल बनाएर दिएको छ । त्यो टनेलभित्र टमाटर, सिम्लालगायतका तरकारी उत्पादन गरिएको छ,” उहाँले थप्नुभयो, “यति मात्रै हैन केही महिनाअघि त्यही ठाउँमा आलु उत्पादन गरेर बिक्री पनि गरेका हौँ ।” विद्यालयले सुरुमा जम्मा गरिदिएको २० हजार रुपियाँ फिर्ता दिएर पनि थप आम्दानी विद्यार्थीले नै बाँडेर लिएको उहाँले जनाउनुभयो । चितवनको एक मात्रै विद्यालय हो जसले अहिले विद्यार्थीलाई अध्ययनकै क्रमममा कृषि कर्म सिकाइरहेको छ । कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई प्रयोगात्मक कक्षामै  आयआर्जन हुने गरी अध्यापन सुरु गरेको हो । भरतपुर महानगरपालिका–२० मा रहेको भीमनगर माध्यमिक विद्यालयले प्राविधिकतर्फ बाली विज्ञान विषय पढ्ने विद्यार्थीका लागि स्कुलमै कृषि उपज उत्पादन गर्न सुरु गरेको विद्यालयका प्रधानाध्यापक कोमलनाथ घिमिरेले बताउनुभयो । 

“बाली विज्ञानतर्फ पढ्ने विद्यार्थीले कक्षा ९ देखि नै समूह बनाएर तरकारी तथा फलफूल उत्पादनमा लाग्छ,” प्रअ घिमिरेले भन्नुभयो, “यो कार्यले एकातर्फ विद्यार्थीलाई विद्यालयले प्रोत्साहनस्वरूप केही रकम दिन्छ । अर्काे उनीहरूले उत्पादन गरेका फलफूल तथा तरकारी पनि आफैँ बिक्री गरेर आम्दानी गर्न सक्छन् ।”

“विद्यार्थीलाई कृषि उत्पादनका लागि व्यावहारिक ज्ञान दिई उत्पादन वृद्धि गरेर व्यवसायीकरण गराउने हाम्रो उद्देश्य हो,” उहाँले  थप्नुभयो, “विद्यालयबाट बाहिर निस्कँदै गर्दा पनि एउटा विद्यार्थी व्यावसायिक रूपमा दक्ष हुन्छ भन्ने विश्वास लिएका छौँ ।” भीमनगर माध्यमिक विद्यालयका पूर्वविद्यार्थी  केबल अर्याल विद्यालयले सञ्चालन गरेको सो अभियानले विद्यार्थीमा पकेट खर्चको व्यवस्थासमेत गरेको तर्क गर्नुहुन्छ । 

“अहिले कृषिको युग हो । कृषिलाई मुख्य पेसा बनाएर बस्ने हो भने हामीले पढ्दै गर्दा प्रयोगात्मक कक्षामै व्यावसायिक सीप सिक्नु जरुरी छ, जुन हामीले गरिरहेका छौ,” उहाँले  भन्नुभयो, “प्रयोगात्मक कक्षाले हामीलाई विद्यालय छाड्दै गर्दा एउटा  कृषि प्राविधिकसमेत बन्ने अवस्था छ ।”

विद्यालयले सञ्चालन गरेको सिक्दै सिकाउँदै अभियानले त कतिपय साथीहरूलाई कलम कापी किन्ने पैसाको स्रोत बनेको पनि उहाँले जनाउनुभयो ।  २०७४ सालबाट बाली विज्ञान विषय पढाउन लागेको यो विद्यालयले आफ्नो स्वामित्वमा रहेको चार बिघा क्षेत्रफलमध्ये दुई बिघा क्षेत्रफल जग्गा विद्यार्थीका लागि कृषि उत्पादनमै प्रयोग गरेको छ । 

“आधुनिक किसिमका टनेल बनाएर बेमौसमी तरकारी उत्पादनमा समेत हामी जुटेका छौ,” प्रअ घिमिरेले भन्नुभयो । अहिले पनि विद्यालयले थप उच्च प्रविधिको आधुनिक उपकरणको प्रयोग गर्न मिल्ने गरी थप टनेल बनाउँदै छ । विद्यालयले अहिले टनेलमा टमाटर, सिमीजस्ता तरकारीलाई  बेमौसमी उत्पादन गर्ने कार्य सुरु गरेका छन् । काउली, टमाटर, च्याउलगायतका कृषि उपज पनि विद्यार्थीले उत्पादन गरेर बिक्री गरिसकेका छन् ।

२०१७ साल माघ १७ मा भीमनगर माध्यमिक विद्यालय स्थापना भएको हो । “बाली विज्ञानमा कक्षा १० उत्तीर्ण गरे जेटीए र कक्षा १२ उत्तीर्ण गरे जेटी हुन पाउने व्यवस्थाले पनि विद्यार्थीहरू यो पेसाप्रति आकर्षित छन्,” प्रअ घिमिरेले भन्नुभयो, “हामीले कृषि विषय पठाउन थालेपछि विद्यार्थीको चाप थेगी नसक्नु भयो ।”

अहिले यो विद्यालयमा निजी विद्यालयका विद्यार्थीसमेत आउने गरेका छन् । छिमेकी एउटा निजी विद्यालयबाट त यो वर्ष कक्षा ८ नै रित्तो हुनेगरी विद्यार्थी आएका विद्यालयले जनाएको छ । यो वर्ष मात्रै विद्यालयमा सय जना नयाँ विद्यार्थी थपिएका हुन् । विद्यालयका सहायक प्रधानाध्यापक सविन न्यौपाने व्यवसायीसँगै अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको बताउनुहुन्छ । 

“उद्यमशीलता, नैतिक मूल्य र मान्यताको विकास, गुणस्तरीय शिक्षा र सीप यसकै कारण विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।  विद्यार्थी भर्ना अभियान चलिरहँदा हामीले भने प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गराउनुपर्ने बाध्यता छ ।” 

  

Author

वसन्त पराजुली