पोखरा समाचारदाता
पोखरा, जेठ २८ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगसरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो।
नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई निवारण गरी कुष्ठरोग मुक्त नेपाल बनाउने लक्ष्य लिइएकामा सो लक्ष्यलाई साकार पार्न इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) ले लिएको रणनीतिक योजनाको पोखरामा शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो।
कुष्ठरोगीलाई समाजमा विभेद नगरी सकारात्मक व्यवहार गरिने हो भने उनीहरूमा उच्च मनोबलको विकास भई रोगसँग लड्न सक्ने क्षमता वृद्धि हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “कुष्ठरोग पनि साधारण रोग हो र यसको उपचार सम्भव छ भनी जनचेतना बढाउनु अझै आवश्यक छ।”
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगी बढिरहेकाले रोग निवारण र रोगीको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठुलो योगदान गरेको बताउनुभयो। कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले समेत सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनुभयो।
प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो।
आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आइएनएफ नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोग मुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेको जानकारी दिनुभयो।
आइएनएफका मेडिकल सर्भिसेज डाइरेक्टर डा. अरुणकुमार बुढाले कुष्ठरोगको समस्या समाधानका लागि आइएनएफले रणनीतिक योजना ल्याएको बताउनुभयो।
कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट, आइएनएफ बोर्डका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारी, आइएनएफ अस्टे«लियाका प्रमुख कार्यकारी अधिकृत वेन थर्ली, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. प्रसन्न नापित, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँलगायतले कुष्ठरोग मुक्त नेपाल बनाउने सरकारी अभियानमा आइएनएफले तयारी गरेको रणनीतिक योजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।
कार्यक्रममा पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका बिरामीको उपचारका लागि लागि सञ्चालनमा ल्याइएको ‘आइलिन एन्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ। हरियोखर्क अस्पतालमा हाल एक सय शय्यामा कुष्ठरोगीको उपचार हुँदै आएको छ।
नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याइपु¥याउन आइएनएफले योगदान गरेको छ।