• ५ जेठ २०८१, शनिबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चीन जानुहुँदै

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । फाइल तस्बिर

काठमाडौं, जेठ २७ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आज राति चीन प्रस्थान गर्दै हुनुहुन्छ ।

अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गर्नु लाग्नुभएको हो । 

उहाँ प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै हुनुहुन्छ । उहाँको नेतृत्वमा प्रतिनिधि सभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । 

यस्तै उहाँका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी हुनुहुन्छ ।

कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधिमण्डलले बेइजिङ र साङ्घाई भ्रमण गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । 

भ्रमणमा बेइजिङमा विभिन्न स्थलको अवलोकन गर्ने कार्यक्रम छ । उहाँ औपचारिक भ्रमण सम्पन्न गरी असार ६ गते नेपाल फर्कने कार्यक्रम छ । रासस