काठमाडौं, जेठ २७ गते। यूरोप भ्रमणमा रहनुभएका पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले अष्ट्रियाका पूर्व राष्ट्रपति हाइन्ज फिसरसँग भेटवार्ता गर्नुभएको छ।
भेटमा दुई कार्यकाल राष्ट्रपति निर्वाचित फिसरले नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालालाई भियना विमानस्थलबाट आफ्नो घरमा लगेर स्वागत गरेको सम्झना गर्नुभएको छ।
भेटको अवसरमा पूर्व परराष्ट्रमन्त्री खडकाले बीपी कोइराला सरकारको समयमा स्थापित दुई पक्षीय सम्बन्ध विस्तारका लागि पर्यटन, जल विद्युत तथा पर्यावरणको संरक्षणमा सहयोग गर्न अनुरोध गर्नुभएको छ।
पूर्व परराष्ट्रमन्त्री खडकाको निजी सचिवालयका अनुसार भेटमा सन् १९९८ मा बन्द भएको अष्ट्रीयन एयरलाइन्सलाई पुनः चालु गर्न त्यहाँको सरकारलाई अनुरोध गरिदिन आग्रहसमेत गर्नुभएको छ। जवाफमा पूर्व राष्ट्रपति फिसरले युक्रेनको संकट र युरोपीको सुरक्षा आदि विषयमा ऐतिहासिक दृष्टान्तका साथ निकै रोचक घटना उल्लेख गर्नुभएको छ।
पूर्व राष्ट्रपति फिसरले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालका लागि उठाइएका विषयमा आफ्नो सरकारसँग अनुरोध गर्ने आश्वासन दिनुभएको छ। भेटमा अष्ट्रियाका लागि नेपालका राजदूत भरत रेग्मीसमेत सहभागी हुनुहुन्थ्यो।