गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रियता तथा राष्ट्रहितको पक्षमा सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा देशको हितमा ठोस सहमति हुन नसकेको उहाँको भनाइ छ ।
काठमाडौंमा शनिबार आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा उहाँले सो कुरा बताउनुभएको हो । सरकारले देशको हितमा केन्द्रित भएर काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । सरकारले फुकोट–कर्णाली जलविद्युत आयोजना निर्माण कार्य गर्न भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको पनि उहाँले आरोप लगाउनुभयो । वर्तमान सरकारसँग विकासको खाका र योजना नरहेको पनि उहाँले टिप्पणी गर्नुभयो ।
वर्तमान सरकारबाट मुलुकको विकास सम्भव नरहेको भन्दै उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमत दिएर सहयोग गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो । देशको विकास र आर्थिक समृद्धिको खाका एमालेसँग मात्रब रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘देशलाई नै अहिले ग्रहण लागेजस्तो भएको छ । विकास र आर्थिक समृद्धिको काम ठप्प छ । उत्पादन वृद्धिदर २ प्रतिशत पनि नपुग्ने अवस्थामा छ ।’
आफ्नो नेतृत्वको सरकार रहेका बेला उत्पादन वृद्धिदर ७ दशमलव १ प्रतिशत पुगाएको उहाँले चर्चा गर्नुभयो । अहिले झरेर त्यो २ भन्दा तल झरिसकेको उहाँले बताउनुभयो । “मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । नदीबाट ४८० मेघावाट विद्युत निकाल्न सकिन्छ । र त्यो आयोजना नेपाल आफैले बनाउँछ मैले निर्णय गराएको थिएँ । अहिले प्रधानमन्त्रीले किस्तीमा राखेर भारतलाई सुम्पेर आउनुभएको रहेछ” अध्यक्ष ओलीले थप्नुभयो, “नेपाललाई दशा लगाउने काम भइरहेको छ, समस्या समाधानभन्दा बल्झाउने काम भइरहेको छ ।”
देशको विकासको काम गर्न छाडेर सत्तापक्षले एमालेलाई घेराबन्दीमा राख्ने काम गरिरहेको उहाँको आरोप छ । एमालेलाई कहीँकतै कसैले कुनै हिसावले पनि कमजोर पार्न नसक्ने उहाँले जिकिर गर्नुभयो । “पार्टी फुटाएर, सरकारबाट ढालेर अनेक गर्दा पनि एमाले जस्ताकोतस्तै छ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्छ” उहाँले भन्नुभयो । कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।