• ६ जेठ २०८१, आइतबार

बाजुरामा फस्टाउँदै स्याउ खेती

blog

पछिल्लो समय फष्टाउँदै गएको बाजुराको स्याउँ खेती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, जेठ २७ गते ।
 बाजुरामा पछिल्लो समय स्याउ खेती फस्टाउँदै गएको छ । कृषि ज्ञान केन्द्र बाजुराले स्याउ खेती हुने बाजुराको विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गर्दै किसानलाई स्याउ खेती गर्न लगाएपछि पछिल्लो समय बाजुरामा स्याउ खेती फस्टाउँदै गएको हो ।

केन्द्रको पहल तथा अनुदानमा बाजुरामा उत्पादन गरेका स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समय बाजुराका किसानको स्याउ खेती प्रति आकर्षण बढ्दै गएको छ । केही समय अघि बाजुराका किसानले स्याउ टिप्दै गाई गोरुलाई खुवाउने गरेका थिए ।

बाजुरामा उत्पादन भएको अर्ग्यानिक स्याउले कतै बजार नपाएपछि यहाँका  किसान स्याउ टिपेर गाई गोरुलाई खुवाउन बाध्य हुन्थे ।

पछिल्लो समय कृषि ज्ञान केन्द्रको पहलमा बाजुरामा उत्पादन भएको स्याउ देशका विभिन्न सहरमा बिक्री हुन थालेपछि यहाँका किसान स्याउ खेती प्रति आकर्षण हुन थालेका हुन् ।

पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरेपनि त्यसले कतै बजार नपाउँदा स्याउ खेती प्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउ उत्पादनमा चाँसो बढाउन थालेका छन् ।

अहिले कृषि ज्ञान केन्द्रले उनीहरूको बैगचामा नै पुगेर स्याउ देशका विभिन्न ठाउँमा बिक्री गर्न आफैँले अनुदान दिन थालेपछि किसानलाई स्याउ खेती प्रति निकै चाँसो बढेको हो ।

स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिन थालेका छन् । बाँझो जमिन सदुपयोग गर्ने गरी विभिन्न स्थानीय तहले किसानलाई स्याउ खेतीमा उत्प्रेरित गर्दै आएका हुन् ।

केन्द्रले अहिले बारीबाट नै स्याउ उठाउन थालेपछि फेरि स्याउ खेतीमा आकर्षण बढ्दै गएको बाजुराका स्याउ किसान बत्ताउँछन् ।

पहिला बाजुराको हिमाली स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको केन्द्रले जनाएको छ ।

बाजुराका १७० हेक्टर जमिनमा अहिले स्याउ खेती गरिन्छ । गत वर्षमा बाजुरामा एक हजार २० मेट्रिकटन उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी मीन प्रसाद जैसी बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुने गर्थ्यो । त्यो स्याउ पनि कतै बिक्री नभएर त्यहाँका किसानले गाई गोरुलाई खुवाउथ्ये । अहिले जिल्लामा उत्पादन भएको अर्ग्यानिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुन्छ ।’’

पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ समेत उत्पादन हुने गरेको छ ।

विगतका केही वर्ष यता बाजुरामा उत्पादन भएको  झण्डै ६ सय मेट्रिकटन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको सूचना अधिकारी जैशीले बताउनुभयो ।