काठमाडौं, जेठ २७ गते । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले जित्नुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शुक्रवार सम्पन्न च्याम्पियनसिपमा सुवासले अन्तिम दिन सात अन्डर ६५ को उत्कृष्ट स्कोर खेल्नुभयो । समग्रमा २१ अन्डर दुई सय ६७ सहित उहाँले अर्का एमेच्योर खेलाडी सद्भाव आचार्यलाई चार स्ट्रोकले हराउनुभयो ।
सुवासले प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको सानदार अन्त्य गर्नुभएको छ । सुवासको यो सिजनको दोस्रो र करियरको पाँचौँ प्रो उपाधि हो । प्रोफेसनल गल्फरले एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन् ।
राष्ट्रिय टिमका युवा गल्फर सद्भावले अन्तिम दिन एकअन्डर ७१ सहित समग्रमा १७ अन्डर दुई सय ७१ को स्कोरका साथ दोस्रो हुनुभयो । उहाँ एमेच्योरर्फ पनि दोस्रो हुनुभयो ।
प्रोतर्फ धरानका नीरज तामाङ च्याम्पियन बन्नुभयो । समग्रमा तेस्रो हुनुभएको उहाँले फाइनल राउन्डमा चार अन्डर ६८ खेल्दै समग्रमा १२ अन्डर दुई सय ७६ स्कोर राख्नुभयो । उपाधिसँगै उहाँले दुई लाख ७० हजार रुपियाँ पाउनुभयो ।
साबिक विजेता शुक्रबहादुर राई समग्रमा ११ अन्डर दुई सय ७७ खेल्दै चौथो हुनुभयो । उहाँले एक लाख ७० हजार रुपियाँ पाउनुभयो । शुक्रले यस सिजन नम्बर एक प्रोको स्थान पनि जोगाउनुभएको छ ।
प्रोतर्फ भुवन नगरकोटी तेस्रो हुनुभयो । समग्रमा पाँच अन्डर दुई सय ८३ स्कोर खेल्नुभएका भुवनले एक लाख २० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको चार दिने प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योरसहित ५० गल्फरले भाग लिएका थिए ।
कूल १५ लाख २० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा प्रोतर्फ शीर्ष २१ मा अटाउने खेलाडीले आकर्षक नगद पुरस्कार हात पारे । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरियो ।
विजेतालाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि के रायभरम, एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गर्नुभयो । शनिबार प्रोएम स्पर्धा हुनेछ ।