काठमाडौँ, पुस ६ गते । गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखाको बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ ।
पदमार्ग विकास कार्ययोजनाको तयारीका लागि गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आज समापन भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गको विकास, प्रवद्र्धन र व्यवस्थापनका लागि सरोकारवालाको क्षमता सुदृढ गर्ने उद्देश्यले आयोजित तीनदिने तालिममा पाँचवटै पालिकाका उपाध्यक्षहरूसहित पर्यटन उद्यमीहरू, सामुदायिक वन उपभोक्ता समूह, पशुधन उद्यमीहरू, सांस्कृतिक समूहका सदस्यहरू गरी कुल २५ जनाको सहभागिता थियो ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको दिगो पर्यटन परियोजनाको सहयोगमा आयोजित सो कार्यक्रममा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्धन र व्यवस्थापनका बारेमा छलफल भएको थियो । तालिम समापनका अवसरमा पाँचवर्षे पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापन कार्ययोजना तयार गरी प्रस्तुत गरिनुका साथै २१ सदस्यीय बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापन समिति गठन गरिएको छ । समितिको नेतृत्व हरेक गाउँपालिकाका उपाध्यक्षले आलोपालोका आधारमा गर्छन् भने अन्य चार पालिकाका उपाध्यक्ष, पर्यटन उद्यमीहरुसहित २० जना सदस्य रहनेछन् ।
तालिममा समापनका अवसरमा नेपाल ट्रेकिङ एजेन्सिस एशोसिएशनका अध्यक्ष सागर पाण्डे र पाँचै गाउँपालिकाका अध्यक्षहरू, बारपाक सुलिकोट गाउँपालिकाका विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका दीपक देवकोटा, दूधपोखरी गाउँपालिकाका धनप्रसाद, दोर्दी गाउँपालिकाका युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकाका अर्जुन गुरुङले नयाँ पदमार्गको सम्भावनाका बारेमा बोल्नुभएको थियो । तालिमलाई प्राविधिक स्रोत व्यक्ति डा चेतनाथ कनेल र इञ्जिनियर कृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो भने संयोजन टानका अम्बिर बड्र गुरुङ, युवराज लामा र सुश्री पवित्रा तामाङले गर्नुभएको थियो । रासस