• १२ मंसिर २०८१, बुधबार

घुम्ती स्वास्थ्य शिविरबाट अपाङ्गता भएकाले सेवा लिए

blog

शिविरमा ह्विलचियर पाएका अपाङ्गता भएका बालबालिका । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, जेठ २६ गते । कोहलपुर नगरपालिका र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र, बनेपा काठमाडौंको संयुक्त आयोजनामा कोहलपुरमा अपाङ्गता भएका बालबालिकाका लागि घुम्ती स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट अपाङ्गता भएका बालबालिका लाभान्वित भएका छन् ।

सो शिविरमार्फत उपचारसँगै सहायक सामग्री समेत वितरण गरिएको छ । कोहलपुर नगरपालिका –१५ स्थित अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र अकलघरुवामा आयोजना गरिएको सो घुम्ती स्वास्थ्य शिविरमा ६९७ जना अपाङ्गता भएकाले स्वास्थ्य सेवा लिएको अस्पताल व्यवस्थापक प्रकाश यादवले जानकारी दिनुभयो ।

उक्त शिविरमा सेवा लिएकामध्ये २४ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । अस्पताल व्यवस्थापक यादवका अनुसार तीमध्ये तीन जनालाई ह्विलचियर वितरण गरिएको छ । चार जनालाई वैशाखी र दुई जनालाई वाकर वितरण गरिएको छ । 

शिविरमा सेवा लिन आएकामध्ये १२ जनाको शल्यक्रिया हुने उहाँको भनाइ छ । अस्पतालका सूचना तथा बाल संरक्षण अधिकृत विनिता खड्काले उनीहरुलाई अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र वनेपामा रिफर गरिएको बताउनुभयो ।

अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी आयोजना गरिएको शिविरमा फिजियोथेरापी सेवासँगै औषधि समेत निःशुल्क वितरण गरिएको छ । सामान्य स्वास्थ्य, हाडजोर्नी र नशा रोग तथा पुन:स्थापनासम्वन्धी आयोजित घुम्ति अस्पतालका सूचना तथा बाल संरक्षण अधिकृत खड्काले शिविरमा अर्थोपेडिक सर्जन डा. यकराज गुरुङसहितको मेडिकल टिमले अपाङ्गता भएकाको स्वास्थ्य चेकजाँच, परामर्श तथा उपचार सेवा प्रदान गरेको बताउनुभयो ।