• ८ वैशाख २०८१, शनिबार

किरण नालाको पुल निर्माणको काम तीव्र

blog

पुलको ढलान कार्य सुरु गर्न लाग्दा अनुगमन गर्दै जनप्रतिनिधिको टोली । तस्विर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ २६ गते । करिब दुई वर्षदेखि अलपत्र परेको खजुरा गाउँपालिकाको परस्पुर–गौघाट सडकखण्ड अन्तर्गत किरण नालाको पुल निर्माणको काम तीव्र गतिमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेको सो पुलको काम जनप्रतिनिधिको दबाबपछि तीव्र हुँदै अन्तिम चरणमा पुगेको हो । 

२०७९ असार २५ गतेभित्र काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी ‘गल्वा-सिद्धार्थ दर्शन जेभी’ ले निर्माण जिम्मा पाएकोमा तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि पटक–पटक म्याद थपिएको थियो । 

बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सङ्घीय सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री किशोरसिंह राठौर र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पटक पटक निर्माण कम्पनीलाई दबाब दिएपछि सो पुलको निर्माण तीव्र पारेको हो । 

सो पुल निर्माणका लागि पाँच करोड ८५ लाख ७२ हजार पाँच सय ३३ रुपियाँको लागतमा २०७७ फागुन १९ गते ठेक्का सम्झौता भएको थियो । 

नेपाली काँग्रेसका केन्द्रीय सह(महामन्त्री राठौरले पटक पटक निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायलाई ताकेता गरेपछि मात्र सो पुलको काम तीव्र पारिएको बताउनुभयो । 

सोही प्रकारले खजुरा गाउँपालिकाका अध्यक्ष विकले पनि पुल निर्माण अलपत्र पर्दा सिगाउँ लगायत सो क्षेत्रका जनतालाई निकै समस्या परेपछि पटक पटक ताकेता गरिएको बताउनुभयो । 

उहाँले छिट्टै पुल निर्माण सम्पन्न हुनेगरी काम भइरहेकोले जनतालाई राहात हुने बताउनुभयो । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाउँदै शुक्रबार सो पुलको ढलान गरिएको निर्माण कम्पनीले जनाएको छ । 

यसैबीच सङ्घीय सांसद राठौर, प्रदेशसभाका सदस्य बादशाह कुर्मी, खजुरा गाउँपालिका अध्यक्ष बिक, उपाध्यक्ष मञ्जु मल्ल र नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ लगायतको टोलीले निर्माणाधीन सो पुलको स्थलगत निरीक्षण गरेको छ । 

निरीक्षण टोलीले ठेकेदारले सम्झौता गरेपनि पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेकोमा दबाबपछि सुरु भई अहिले सम्पन्न हुन लागेकोमा खुसी व्यक्त गरेको गाउँपालिकाले जनाएको छ । 

जनप्रतिनिधिको चर्को दबाबपछि पुल निर्माण कार्य तीव्र पारिएकोमा स्थानीयले आभार व्यक्त गरेका छन् । पुल निर्माणपछि वर्षा र अन्य समयमा पनि आवागमनमा हुने समस्या समाधान हुने उनीहरूको विश्वास छ ।