• ८ जेठ २०८१, मङ्गलबार

‘कालो सुन’को नस्ल

blog

महिष (भैँसी) पालले पनि शासन गरेको नेपालमा भैँसी अधिकांश ग्रामीण परिवारको दिनचर्या र आयको आधार अद्यापि छँदै छ । बाबुआमाले स्थानीय जातकै भैँसी पालेर हात पारेको आम्दानीबाट कापीकिताब किनेर पढेकाहरू अहिले विद्वान्, विश्लेषक अनि गैरकृषि व्यवसाय, नोकरीबाट आम्दानी गर्ने भएका छन् । राज्यले बहुसङ्ख्यक कृषक परिवारको आयस्रोत दह्रो बनाउन दशकौँदेखि बढी उत्पादन लिन सकिने उन्नत नस्लका पशु विकास र विस्तारका कार्यव्रmम चलाएको पनि छ तर उन्नत नस्लको भरपर्दो स्रोतको अभाव महसुस भइरहेको छ । यस्तो अवस्थामा हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा १५ वटा मुर्रा जातका राँगा नेपालले उपहारस्वरूप पाएको छ । दुध कस्तो मेसिनले के के मिसाएर बनाइन्छ भन्ने चेतनास्तरका निम्ति प्रधानमन्त्रीलाई राँगा उपहार भन्ने ठट्टाको विषय बने पनि यी राँगा नेपाली किसानको आम्दानीका मूलस्रोत साबित हुने छन् । ती मुर्रा राँगाका कारण दुधालु भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा नेपालका पशु वैज्ञानिक विश्वस्त देखिएका छन् र उत्साही पनि । 

नेपालका दुधालु मानिएका भैँसीले पनि सरदर पाँच लिटर दुध दिने गरेका छन् । मुर्रा जातको भैँसीबाट प्रतिदिन अधिकतम ३८ लिटर र न्यूनतम २५ लिटर दुध उत्पादन हुन सक्छ । त्यसैले भारतको हरियाणा, दिल्ली, पन्जाव, उत्तरप्रदेशमा विस्तारित मुर्रा भैँसीले ‘कालो सुन’को उपमासमेत पाएको छ । त्यसबाट निस्किएको नस्लले पनि प्रतिदिन १४ देखि २० लिटर दुध दिन्छ । नेपालका प्रत्येक गोठमा शुद्ध मुर्रा पाल्न अहिलेलाई असम्भव छ । भैँसीको उत्पादन क्षमता सुधारका लागि नस्ल सुधारबाहेक अरू विकल्प छैन । तिनका नस्ल विस्तार गर्न सक्दा भैँसीको दुध उत्पादन निःसन्देश वृद्धि हुने छ । पशुको शुद्ध नस्लले पछिल्लो पुस्तामा उत्पादन बढाउने क्षमता राख्छ । दुध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने नेपालीको लक्ष्यमा महìवपूर्ण योगदान पुग्ने छ । साथै, मुर्रा नस्लका राँगाले भारी बोक्ने (तान्ने) कार्यमा प्रयोगसँगै मासुका लागि योगदान पु-याउने छन् । 

देशमा सहरीकरणसँगै दुध तथा दुग्धजन्य पदार्थको माग बढ्दै गइरहेको छ । यसले गर्दा घरायसी गुजाराका लागि मात्र नभई व्यावसायिक रूपमा दुधालु गाई/भैँसीपालन गर्न चाहनेको सङ्ख्यामा समेत वृद्धि हुँदै गइरहेको छ तर अझै पनि अधिकांश कृषक परिवार रैथाने जातका भैँसी पालेर ओलनको गर्जो टारिरहेका छन् । मुलुकभर भैँसीभन्दा गाईको सङ्ख्या धरै भए पनि दुध उत्पादनमा भैँसीको दुधले झन्डै ६५ प्रतिशत स्थान ओगटेको छ । स्थानीय मुठे गाई लोप हुँदै गएर वर्णशङ्कर गाईको सङ्ख्यामा वृद्धि भए पनि दुध उत्पादनमा अधिकांशतः स्थानीय जातकै भैँसीको योगदान बढी छ । दुध उत्पादनका लागि जुन जातका भैँसी वा गाई पाले पनि दुःख र तिनलाई आहार उस्तै उस्तै हो । त्यसैले रैथानेभन्दा बढी उत्पादन लिन सकिने उन्नत नस्लका गाई भैँसीको विस्तार तथा विकास गरिनु आवश्यक छ ।  

यस अवस्थामा उन्नत नस्लका दुधालु गाई/भैँसीको भरपर्दो स्रोतको अभावलाई दृष्टिगत गरी दुध तथा दुग्धजन्य पदार्थको मागलाई सहज आपूर्ति गर्न साझेदारीको अवधारणा अनुरूप उन्नत भैँसी स्रोतकेन्द्र विकास कार्यक्रम २०७० सालदेखि सञ्चालन गरिएको छ । राष्ट्रिय भैँसी अध्ययन केन्द्र, तरहराले कृषकको मागका आधारमा उच्च नस्लका राँगा उपलब्ध गराउँदै आएको पनि छ । दुध उत्पादन वृद्धिमा नस्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृत्रिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । पोखरा, लहान र नेपालगन्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नस्ल सुधारका लागि वीर्य सङ्कलन गरी नेपालभर वीर्य वितरण गरिँदै आएको छ । 

नेपालमा हाल रहेका मुर्रा जातका राँगाको शुद्धताको मापन हुन सकेको छैन । भारत सरकारको शुद्ध स्रोतलाई आयात नगर्ने नीतिका कारणले नेपालमा शुद्ध मुर्रा जातको राँगा भित्र्याउन सकिएको थिएन । भारतबाट शुद्धताको मापन भएर आउने राँगामार्फत नेपालले पर्याप्त आर्थिक मुनाफा लिन सक्ने छ । शुद्ध मुर्रा राँगाबाट यहाँका भैँसीमा नस्ल सुधार गर्दा वर्णशङ्कर पुस्ताको उत्पादन निश्चित रूपमा बढ्ने देखिएकै छ । अनि भारतको जुनसुकै जलवायु 

परिस्थितिमा अनुकूलित हुने क्षमता रहेको मुर्राको नेपाली वर्णशङ्कर यहाँको हावापानी सहने, आहार पनि विशेष नचाहिने हुँदा कृषकको रोजाइमा पर्ने पनि निश्चित छ ।