• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालको अनुगमन गर्नुहुँदै ।

राममणि दाहाल

हेटौँडा, जेठ २५ गते । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार हेटौँडा अस्पतालको निरीक्षण गर्नुभएको छ । सङ्घीय र बागमती प्रदेशका स्वास्थ्यमन्त्रीहरुले हेटौँडा अस्पतालको आकस्मिक रूपमा अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही र आफन्तसँग जानकारी लिनुभएको हो । 

अस्पताल अनुगमनपछि मन्त्री बस्नेतले देशभरिका अस्पतालले १० प्रतिशत शय्या विपन्नका लागि छुटाएर निःशुल्क सेवा दिनुपर्ने भन्दै सरकारी अस्पतालले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृत्ति बढ्दो रहेकाले स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरी नयाँ उपकरण खरिद नगर्न निर्देशन दिनुभयो । 

राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारबाही गर्ने भन्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नुपर्छ ।’ यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री जोशीले हेटौँडा अस्पतालको सेवा सुधारमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

साथै, अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटाले अस्पतालले प्रदान गर्दैआएको सेवा र अस्पतालका समस्याका बारेमा जानकारी गराउनुभयो । अस्पतालमा उपचाररत बिरामी र बिरामीका आफन्तहरूले बीमाको औषधि नपाएको, उपचारमा ढिलाइ भएकोलगायतका गुनासो गर्नुभयो ।