• १२ वैशाख २०८१, बुधबार

पेसागत स्थायित्वको माग गर्दै धर्ना

blog

शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जाको मूल गेटमा धर्नामा बसेका विद्यालयका कर्मचारीहरु

राधाकृष्ण डुम्रे 

वालिङ, जेठ २५ गते । स्याङ्जाका सरकारी विद्यालयमा कार्यरत कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् स्याङ्जाको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयमा कार्यरत लेखा शाखा र विद्यालय सहयोगीको रूपमा कार्यरत कर्मचारीको सेवा, सुविधासहित पेसागत स्थायित्वको माग गर्दै धर्ना दिएका हुन् । 

परिषद् स्याङ्जाका अध्यक्ष चिरञ्जीवी न्यौपानेका अनुसार, “न्यून तलबमा पनि स्थायी शिक्षक सरह सेवा प्रदान गरिरहेका हामी कर्मचारीका बारेमा बजेट सम्बोधन गरिएन । नेपाल सरकारको आर्थिक वर्ष २०८०-८१ नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा समेटिएपछि पनि बजेटमा कतै सम्बोधन नभएकाले आन्दोलनमा उत्रिएका छौँ ।”

सामुदायिक विद्यालयका कर्मचारीले कुनै स्थान, पद मर्यादाक्रम नरहेको भन्दै विभिन्न मागहरू राखेर आन्दोलन गरेको जनाएका छन् । एक वर्षदेखि आन्दोलनरत विद्यालय कर्मचारीलाई नेपाल सरकारले विद्यालय तल्लोस्तरको व्यवहार गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद् स्याङ्जाले आरोप लगाएको छ । 

जिल्लामा विद्यालय कर्मचारीको सङ्ख्या पाँच सय ६ रहेको छ । विगतदेखि नै पटक-पटकका सरकारले आफूहरू माथि विभेदकारी ब्यहार गरिरहेको दुखेसो कर्मचारीहरूको छ ।

हाम्रा शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन नगरिए आन्दोलनलाई चर्काउने आन्दोलनरत कर्मचारीहरूका साझा भनाइ छ । जेठ २१ देखि सुरु भएको धर्ना बिहीबार सकिएको हो ।  

पहिलो चरणको आन्दोलनरत कर्मचारी गीता आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आवश्यकता छैन भने घर पठाइदिओस्, आवश्यक छौँ भने व्यवस्थापन अब ढिलो नगरियोस् ।”

आन्दोलनरत विद्यालय कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय र जिल्लास्थित एघारै वटा पालिकाका शिक्षा शाखालाई समेत जानकारी पत्र बुझाएको जनाएका छन् । विद्यालय कर्मचारी भनेका विद्यालयले नियुक्त गरेका लेखापाल र कार्यालय सहयोगी हुन् ।