• २९ वैशाख २०८१, शनिबार

भूमिहीन परिवारलाई लालपुर्जा वितरण

blog

बुधबार चुलाचुलीमा लालपूर्जा वितरण गर्दै भूमिसुधार सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, जेठ २४ गते । इलामको चुलाचुली गाउँपालिकामा रहेका अव्यवस्थित बसोबास गर्ने २४ परिवार भूमिहीनहरूले बुधबार जग्गाको लालपुर्जा प्राप्त गरेका छन् । भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले ती परिवारका सदस्यलाई लालपुर्जा प्रदान गर्नुभएको हो । 

लालपुर्जा प्रदान गर्दै मन्त्री श्रेष्ठले आफू मन्त्री भएर लिएको उद्देश्य कार्यान्वयनको सुरुवात भएको बताउनुभयो । मन्त्री श्रेष्ठले देशभरि भूमि आयोगले भूमिहीन तथा सुकुम्वासीहरूको सवालमा काम अघि बढाइरहेको बताउँदै अब लालपुर्जा उपलब्ध गराउने कामलाई तीव्रता दिने बताउनुभयो । 

भूमि आयोगको जिल्लास्थित समितिले अघिल्ला आयोगहरूले गरेका अधुरा कामलाई पूरा गर्दै चुलाचुलीका अव्यवस्थित बसोवासीलाई लालपुर्जा उपलब्ध गराउने कामको थालनी भएको आयोगका जिल्ला अध्यक्ष भक्त केसीले बताउनुभयो । 

जिल्ला कार्य समितिले अहिलेसम्म जिल्लाका दश पालिकामध्ये सूर्योदय नगरपालिका, माई नगरपालिका र रोङ गाउँपालिकामा भूमिहीनहरूले दिएको आवेदनअनुसार जग्गाको नापजाँच गरेर काम अघि बढाइएको जनाएको छ । 

यी तीन पालिकाबाट मात्र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क आएको  र दलित सुकुम्वासी र भूमिहीन सुकुम्वासीको भने तथ्याङ्क आउन बाँकी रहेको आयोगको जिल्लास्थित विज्ञ सदस्य श्याम खड्गीले जानकारी दिनुभयो ।