• ३० वैशाख २०८१, आइतबार

फास्ट ट्रयाक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ : सांसद महासेठ

blog

नेकपा (एमाले) सांसद रघुवीर महासेठ ।

काठमाडौं, जेठ २४ गते। नेकपा (एमाले) सांसद रघुवीर महासेठले फाष्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताउनुभएको छ। 

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले फास्ट ट्रयाक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत बजेट जाने गरे पनि मन्त्रालयको अन्य कुनै भूमिका नभएको भन्दै यसमा पुनः विचार गर्नुपर्ने बताउनुभएको हो। 

उहाँले भौतिक पूर्वाधार मन्त्रालयले अनुगमन गरेर सही वा गलत भनेर टीकाटिप्पणीसमेत गर्न नपाउने बताउनुभयो। यसको आर्थिक जिम्मेवारी रक्षा मन्त्रालयमार्फत नै हुनुपर्ने धारणा राख्नुभएको हो। त्यस्तै फास्ट ट्रयाक नेपाली सेनाले बनाउनसक्छ सक्दैन भन्ने विषयमा पनि छलफल आवश्यक रहेकाले सत्तापक्ष र प्रतिपक्षले यस विषयमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले भन्नुभयो, ‘‘भौतिक पूर्वाधार मन्त्रालयको कुनै रोल हुँदैन। हेर्न पाउँछ तर गलत सही टीकाटिप्पणी गर्न पाउँदैन। भौतिक मन्त्रालयभित्र राखिएका फास्ट ट्रयाक सम्बन्धी जति बजेट छ। त्यो रक्षा मन्त्रालयमा पठाइयोस्। जब भौतिक मन्त्रालयको त्यहाँ रोल नै हुँदैन, भौतिक मन्त्रालयमा किन पैसा पठाउनुपर्‍यो ? म फेरि पनि भन्छु, सेनाले बनाउन सक्छ कि सक्दैन ? त्यसमा पनि सत्तापक्ष, प्रतिपक्ष बसेर छलफल होस्।’’

उहाँले सार्वजनिक खरिद ऐनको संशोधन गर्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले नागरिकता विधेयक सम्बन्धी छलफल गर्दै गरे पनि जन्मसिद्ध नागरिकको छोराछोरीलाई नागरिकता दिनेगरी एउटा विधेयक ल्याउन सरकारसँग माग गर्नुभयो।