• १७ असार २०८१, सोमबार

मधेस प्रदेशमा जल उत्पन्न प्रकोप उद्धार अभ्यास

blog

जल उत्पन्न प्रकोप उद्धार अभ्यास गर्दै सुरक्षाकर्मी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री 

सर्लाही, जेठ २४ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीस्थित नुनथरमा बुधबार मधेश प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरिएको छ । मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको हो । 

कार्यक्रममा मुख्यमन्त्री यादवले बाढी तथा डुबानको उच्च जोखिममा रहेको यस प्रदेशभित्र उद्धारका सरसामग्रीको अभाव हुन नदिन प्रदेश सरकारले सकेसम्मको व्यवस्था गर्ने र केन्द्र सरकारसँग समेत माग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मधेश प्रदेशको गृह, सञ्चार, तथा कानून मन्त्रालयका सचिव उमेशकुमार ढकाल, नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिवासका उपरथी प्रेमध्वज अधिकारी, प्रदेश प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, सशस्त्र प्रहरी प्रदेश प्रमुख (डीआइजी) दीपेन्द्रकुमार साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायतको उपस्थिति थियो । 

वर्षायाम सुरु हुने समय आएको र त्यसबेला के–कसरी उद्धारको काम गर्न सकिन्छ ? भनी सेना, प्रहरी र सशस्त्र भएर संयुक्त रुपमा उद्धार अभ्यास गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी मुख्यमन्त्री यादव, अन्य अतिथि र सहभागीलाई तीन वटै सुरक्षा निकायले बागमती नदीमा जलजन्य विपद्मा परेका व्यक्तिको नमूना उद्धार अभ्यास प्रदर्शन गरेर देखाएका थिए । मुख्यमन्त्री यादवसहित अन्य अतिथिले तीनवटै सुरक्षा निकायले प्रदर्शनमा राखेका उद्धार सामग्रीको निरीक्षण समेत गर्नुभयो ।