• १५ असार २०८१, शनिबार

आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित होइन : प्रधानमन्त्री प्रचण्ड

blog

राष्ट्रिय सभा बैठकलाई आफ्नो भारतको औपचारिक भ्रमणबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ । हुन्न बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री प्रचण्डको तर्क थियो ।

बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न पनि सबै पार्टीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्‍याउनु भयो । बरु बङ्गलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानी गरेको उहाँको स्पष्टीकरण थियो ।

प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालका लागि ठुलो कुरा भएको बताउनुभयो । उहाँले आफूले भारत भ्रमणको क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणको क्रममा खर्बौँको लगानी भित्र्याउने गरी सहमति गरेको जिकिर गर्नुभयो ।

अब माननीय सदस्यहरुले फेरि अर्को कुरा पनि राख्नु भयो । यो सट्टापट्टावाला कुरा के भएको हो ? तपाईले त जमिननै दिएर आउनु भए छ भनेको जस्तो गरे । पहिलो कुरा, म के भन्न चाहन्छु भने मैले औपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाबारे कुरै गरेको छैन । र गरेकै होइन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । त्यो समस्या छिटोभन्दा छिटो वार्ता, संवादद्वारा हल गर्नु पर्छ भन्नेकुरा मात्रै भनेको हो । मैले नेपाली पत्रकारहरुसँग कुरा गर्दा यो विषयमा धेरै खालको विचारहरु पनि छन् । नेपालकै कतिपय बुद्धिजीविहरुले हामीले यदि बङ्गलादेशको मोडेल अध्ययन गरेर त्यसलाई पनि लिनुपर्छ । या बङ्गलादेश जाने बाटो हामीले पाउने हो भने समस्याको त्यो पनि समाधान हुन सक्छ भनेर भनेका छन् भन्ने सन्दर्भमा मैले यो कुरा बोलेको हो ।

त्यो भारत सरकारसँग प्रस्ताव राखेको या भारतसँग कुरा भएको होइन । माननीय सदस्यहरुलाई प्रष्ट होस् । मैले त यो विकल्पबारे नेपालको एउटा, दुईटा बुद्धिजीविले मात्रै होइन् नेपालमा धेरै पटक सीमा सम्बन्धी समस्या समाधानको बारेमा सरकारले नै समयसमयमा अध्ययन गराउने गरेको छ । २०७२ मा अध्ययन भएको छ । २०७७ मा पनि अध्ययन भएको छ । र त्यो अध्ययन गरेका बुद्धिजीविहरु, विशेषज्ञहरुले समस्या जटिल भयो भने हामीले सटापटा पनि गर्न सकिन्छ भनेर उहिल्यैदेखि भनेको भेटिन्छ । त्यसकारण यो मैले आविष्कार गरेको कुरा पनि होइन । यो भारत सरकारसँग अहिलेनै औपचारिक ढङ्गले प्रस्ताव गरिएको कुरा पनि होइन । यस्ता पनि विचारहरु छन् चाँही मैले भनेको हो । त्यसकारण यसलाई फेरि अतिरञ्जित ढङ्गले यति राम्रो भएको सम्बन्धमा चाँही दरार पैदा कसरी गर्न सकिएला ? भनेको जस्तो गरी तर्क गर्नु म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु–उचित हुँदैन ।

त्यस्तो केही पनि भएको छैन । सीमा सम्बन्धी समस्या हल गरिन्छ भन्ने कुरा हामीले त भनेकै कुरा हो । भारतका प्रधानमन्त्रीले पनि पहिलो चोटी भन्ने परिस्थिति सृजना गरियो । त्यसमा तपाई, हामी सबैले गर्व गर्नु पर्दछ । मलाई त लागेको थियो अघि मैले जुन पढेँ । यहाँहरुको बीचमा राखे भारत भ्रमणको उपलब्धिबारे । देशले सिङ्गै के सत्तापक्ष, के प्रतिपक्ष, नागरिक समाज सबैले नै मलाई चाँही बधाई दिन्छन् भनेर सोचेरै आएको थिए म । स्वागत हुन्छ भव्य भन्ने लागेको थियो । किनभने नेपालको इतिहासमा केही युगान्तकारी काम भएका छन् माननीय सदस्यहरु ।

राजनीतिक कारणले हामी कसैलाई भन्न मन लाग्ने, कसैलाई नलाग्ने त एउटा होला । तर नेपालको इतिहासमा पहिलो पटक सीमा सम्बन्धी समस्या हामी हल गर्छौं भनेर दुवै जना प्रधानमन्त्रीले दुनियाँको अगाडि उभिएर कमिटमेन्ट गर्ने सानो उपलब्धि होइन । मेरो भारत भ्रमण महत्त्वपूर्ण भएको छ । गेमचेन्ज गर्ने तरिकाले अगाडि बढेको छ । किन ? हामी दुई छिमेकीहरु राम्रो विश्वासको वातावरण बनाएर मात्रै लिपुलेक, कालापानीको पनि समस्या हल हुने हो । एकले अर्कालाई पोलिटिक्स मात्रै गरिराखेर त यो बल्झिने मात्रै हो । कचिंगल हुने मात्रै हो । सरकारको नेतृत्व हुनेको हैसियतले हामीले संंवादद्वारा सकारात्मक ढङ्गले समधानको उपाय खोज्ने पो हो ।

प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौ भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएको कुरालाई त अरु कसैले गर्‍यो र ? अरु कुनै सरकार, हामी स्वयम् रहेका हिजोको सरकारले पनि हिजो गर्न सकेको कुरा थियो र यो ? अहिले बडो केही नि भन्ने साथीहरुले, माननीय सदस्यहरुले हिजो त सरकारको नेतृत्व उहाँहरुको दलले पनि गरेकै थियो । थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले के चाँही गर्नु भएको थियो ? गर्नु भयो केही ? भएको थियो र केही ? अहिले अलि भयो । उत्पात भयो भन्ने मेरो दाबी होइन् । तर एउटा नयाँ सुरुवात भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । अब नेपालमा अर्बौ, खरर्बौ लगानी आउने वातावरण बनाइयो । यसमा त हामीले खुशी पो व्यक्त गर्नु पर्छ त । त्यसकारण म माननीय सदस्यहरुलाई गम्भीरतापूर्वक अनुरोध गर्न चाहन्छु–यो बेला हो नेपालीहरुले बलियो राष्ट्रिय एकताको प्रर्दशन गर्ने । ठिक भएको छ । अझ ठिक हुनुपर्छ । भएका सहमति ठिक ढङ्गले कार्यान्वयन हुन् । हामी सबै नेपालीहरुले तिखो आँखाले हेरौं । सहमति र सम्झौता भएका कुराहरु पालना हुन् । जस्तो पञ्चेश्वर २६ वर्ष भयो । मैले जानु अगाडि यस सम्मानित सदनमा पनि ती कुरा जानकारी गराएका थिँए । अहिले तीन महिनामा डिपीआर बनाउने । एक वर्ष भित्र निर्माणको मोडालिटी तयार गर्ने भन्ने भएको छ । र टनकपुरबाट हामीले पाउने पानी हामीतिरकै संरचना पूरा भइसकेको रहेनछ । तर अहिले त्यो पानी दिने भन्ने भएको छ । यी सबै उपलब्धि होइनन र ? यसले नयाँ वातवरण बनाएको होइन र ? अनि, हामी सबैले एक भएर यी भएका सहमति, समझदारी ठिक ढङ्गले कार्यान्वयन हुन । हुन बाँकी सहमति पनि बनाउनु प¥यो पो भन्नु पर्छ र । त्यसो भन्यो भने पो नेपाल बलियो हुन्छ । हामी बलियो हुन्छौं । त्यसकारण यसमा अनाआवश्यक हामीले सकिनसकी विरोध गर्नुपर्ने, कनिकुथीको तरिका अपनाउनु उचित छैन ।