• १३ पुस २०८१, शनिबार

विद्यालय शिक्षामा अभिभावकको ध्यान जान जरुरी

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, जेठ २४ गते । शिक्षकसँगै अभिभावकहरूको समुचित ध्यान बालबालिकामा नजाँदा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढ्न नसकेको महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् । 

मटिहानी नगरपालिकाको सहयोगमा सामुदायिक सिकाई केन्द्र मटिहानीले आयोजना गरेको अभिभावक शिक्षा कार्यक्रममा वक्ताहरूले शिक्षामा गुणस्तरीयता बढाउन अभिभावकको चासो समेत हुनुपर्नेमा जोड दिएका हुन् । 

मटिहानी नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साहले अभिभावकहरूलाई सम्बोधन गर्नुहुँदै विद्यालयमा पठाएर अभिभावकहरूले आफ्नो दायित्व र जिम्मेवारी सकिएको ठानेको कारणले बालबालिकाहरू शिक्षामा कमजोर देखिएको बताउनुभयो। घरको चार वटा खम्बा मजबुत भए मात्रै घर मजबुत भएझैँ गुणस्तरीय शिक्षाको लागि विद्यालयको वातावरण, शिक्षक, विद्यार्थी र अभिभावक चार वटा खम्बा भएको बताउनुहुँदै एउटा पनि कमजोर भयो भने शिक्षाको गुणस्तर नबढ्ने दाबी गर्नुभयो । उहाँले सबैले आ–आफ्नो दायित्व र जिम्मेवारी इमानदारीपूर्वक गर्ने हो भने यहाँका बालबालिकाको शिक्षामा गुणस्तरीयता बढ्न सक्ने बताउनुभयो ।

मटिहानी नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष जितनारायण माझीले विद्यालयमा शिक्षक आएनन्, पढाएनन्, विद्यालय किन बन्द भयो ? मेरो विद्यार्थीलाई केही आएन भनेर अहिलेसम्म आफूलाई कुनै पनि अभिभावकले गुनासो नगरेको बताउनुहुँदै उहाँले बालबालिकाहरूको पढाइलेखाइबारे समेत ध्यान दिन अभिभावकहरूलाई आग्रह गर्नुभयो। 

दुई कार्यकालदेखि वडाध्यक्ष रहनुभएका माझीले भन्नुभयो, "अभिभावकहरू खाली चदरा मैले पाइन, धारा पाइन लगायतका गुनासो गर्छन्, यसले कसरी शिक्षाको गुणस्तरीयता आउँछ ।"

निजी विद्यालयमा बालबालिका पढाउने अभिभावकहरूले गर्ने व्यवहार र सामुदायिक विद्यालयमा पढाउने अभिभावकहरूको व्यवहार फरक देखेको बताउनुहुँदै वडाध्यक्ष माझीले भन्नुभयो, "शिक्षक, अभिभावकहरूले चासो र जिम्मेवारी नलिएसम्म गुणस्तरीय शिक्षामा समस्या नै रहने देखिन्छ ।" आफ्नो वडामा रहेको विद्यालयमा आफू निरन्तर रूपमा अनुगमन गर्ने र समस्याहरूलाई समाधान गर्ने गरेको भएपनि अभिभावकहरूले चासो, सल्लाह, सुझाव दिने हो भने अझ राम्रो बनाउन सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख मञ्जु देवीले नगरपालिकाका सबै अभिभावकहरू शिक्षित नभएपनि आफ्ना बालबालिकाहरूलाई शिक्षित बनाउन खोजिरहेपनि सो अनुसारको देखरेख हुन नसकेको स्विकार्नुभयो । उहाँले विद्यालयमा बालबालिकाले आज के पढयो, के के गर्‍यो, विद्यालयको पोसाक लगाएको छ छैन लगायतका सानो सानो विषहरूमा अभिभावकहरूले ध्यान दिने हो भने पनि शिक्षामा बिस्तारै बिस्तारै सुधार आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।