• १३ वैशाख २०८१, बिहिबार

चर्च ब्वाइज डेब्युमै लिग च्याम्पियन

blog

लिगको उपाधि जितेपछि खुसी मनाउँदै चर्च ब्वाइजका खेलाडी । तस्बिरहरु : केशव गुरुङ

काठमाडौं, जेठ २३ गते । चर्च ब्वाइज युनाइटेड क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोल रहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै लिग जितेको हो ।

नवप्रवेशी टोली चर्च ब्वाइज ‘ए’ डिभिजन खेलेको पहिलो वर्ष नै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । यद्यपी चर्च ब्वाइजलाई लिग जित्न एक अङ्क मात्र प्रयाप्त थियो । जुन थ्रीस्टारसँगको बराबरीले सम्भव भयो ।

चर्च ब्वाइज ‘ए’ डिभिजनको डेब्युमै उपाधि जित्ने दोस्रो क्लब बनेको छ । चर्च ब्वाइज गतबर्ष ‘बी’ डिभिजन लिग जित्दै ‘ए’ डिभिजनमा बढुवा भएको थियो । यसअघि मनाङ मर्स्याङ्दी क्लबले ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लनासाथ लिग जितेको थियो ।

मनाङले २०४२ सालमा ‘बी’ डिभिजन लिग र २०४३ सालमा ‘ए’ डिभिजन लिग जित्दै कीर्तिमान बनाएको थियो । चर्च ब्वाइजले ३७ वर्षपछि मनाङको उपलब्धि भेट्टाएको हो । उपाधिसँगै चर्च ब्वाइजले ७५ लाख रुपियाँ पुरस्कार पक्का गरेको छ ।

बराबरीसँगै चर्च ब्वाइजले २५ खेलबाट ४५ अङ्क  बनायो । शीर्षस्थानमा रहेको चर्च ब्वाइज दोस्रो स्थानमा रहेको मच्छिन्द्रभन्दा ६ अंकल अगाडि छ । २४ खेल सकेको मच्छिन्द्रको ३९ अङ्क छ । २५ खेलबाट २९ अङ्क बनाएको थ्रीस्टार १२औं स्थानमा छ । थ्रीस्टारलाई रेलिगेसन जोगाउन अन्तिम खेल जित्नुपर्ने बाध्यता छ । 

यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा रेलिगेसनको दबाबमा रहेको एफसी खुबलटारले एपिएफ क्लबलाई ३–१ गोलले हरायो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल गर्नुभयो । एपिएफका सनिश श्रेष्ठले सान्त्वना गोल फर्कानुभयो । जितसँगै २५ खेलबाट २७ अङ्क बनाएको खुमलटार १३औं स्थानमा उक्लिएको छ । समान खेलबाट ३० अङ्क बनाएको एपिएफ नवौं स्थानमा छ । 

यस्तै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । आर्मीका लागि दिनेश हेम्जनले सुरुवाती गोल गर्नुभयो । ३९औं मिनेटमा अहमत हिजाजीले गोल गर्दै पुलिसलाई बराबरीमा ल्याउनुभएको थियो । बराबरीसँगै २५ खेलबाट ३८ अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ । समान खेलबाट ३१ अङ्क बनाएको आर्मी सातौं स्थानमा छ ।