• १६ चैत २०८०, शुक्रबार

पहिलो दिन सुवास पाँच स्ट्रोकले अगाडि

blog

सट प्रहार गर्दे सुवास तामाङ ।

काठमाडौं, जेठ २३ गते । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपालका नम्बर एक एमेच्योर सुवास तामाङले अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मंगलबारदेखि सुरु भएको च्याम्पियनसिपमा सुवासले नौ अन्डर ६३ को उत्कृष्ट स्कोर खेल्नुभयो ।

उहाँले दोस्रो स्थानमा रहनुभएका प्रो तोरण शाहीलाई पाँच स्ट्रोकले पछि पार्नुभएको छ । तोरणले पहिलो दिन चार अन्डर ६८ खेल्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका जयराम श्रेष्ठ र शिवराम पौडेलको समान तीन अन्डर ६९ स्कोर छ । 

पाँचौँ स्थानमा रहनुभएका एमेच्योर सद्भाव आचार्यले दुई अन्डर ७० स्कोर खेल्नुभयो । साबिक विजेता सुक्रबहादुर राई, कृष्णमान राजबाहक र दिनेश प्रजापति एक अन्डर ७१ स्कोरसहित संयुक्त छैटौँ स्थानमा हुनुहुन्छ । भुवन नगरकोटी, दलबहादुर लामा, रवि खड्का र राजेन्द्र थापामगर समान इभनपार ७२ खेल्दै संयुक्त नवौँ स्थानमा हुनुहुन्छ । 

चार दिने प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योरसहित ५० खेलाडीको सहभागिता रहेको छ । ७२ होलको स्पर्धामा ३६ होलको समाप्तिपछि शीर्ष २१ प्रो र ६ एमेच्योर फाइनल चरणमा प्रवेश गर्नेछन् । कूल १५ लाख २० हजार रुपियाँ पुरस्कार राशि रहेको च्याम्पियनसिपको विजेताले दुई लाख ७० हजार र उपविजेताले एक लाख ७० हजार रुपियाँ पुरस्कार पाउनेछ । 

यस्तै तेस्रो हुनेले एक लाख २० हजार, चौथोले एक लाख र पाँचौँ स्थानमा रहनेलाई ८६ हजार रुपियाँ प्रदान गरिनेछ । फाइनलमा स्थान बनाउने शीर्ष २१ प्रोलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । शनिबार २५ प्रो र एक सय एमेच्योरबीच छुट्टै प्रोएम स्पर्धा हुने आयोजकले जनाएको छ ।