नवीनराज कुइँकेल
लमजुङ, पुस ४ गते । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेसीसहरमा सुरु हुने भएको छ । आयोजक त्रिवेणी युवा क्लबले शुक्रबार बेँसीसहरमा पत्रकार सम्मेलन गरी ३३ औँ त्रिवेणी कपको तयारीबारे जानकारी दिएको हो ।
प्रतियोगितामा आमन्त्रित रूपमा छवटा ‘ए’ डिभिजन टिमसहित १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा चितलाङ क्लब काठमाण्डौं, न्युरोड फुटबल क्लब, चर्च ब्वाइज यूनाइटेट फुटबल क्लब, एपिएफ फुटबल क्लब, सातदोबाटो फुटबल क्लब र टोखा भगवती फुटबल क्लबलाई आमन्त्रित गरिएको छ । अन्य काठमाडौं, चितवन र लमजुङका गरि १० टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद छ लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद दुई–दुई लाख प्रदान गरिने क्लबका अध्यक्ष टेकजंग गुरुङले जानकारी दिनुभयो ।
सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २५–२५ हजार रुपियाँ दिइने छ । क्वाटरफाइनलदेखि प्रत्येक खेलमा रु १० हजारसहित म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब एक करोड ३२ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता बेँसीसहरमा रहेको सहजी रंगशालामा हुनेछ ।
जिल्लामा फुटबल खेलको विकास र प्रवद्र्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष गुरूङले बताउनुभयो ।
आयोजकले पुसे पन्ध्र तथा तमु ल्होसारको अवसरमा बेँसीसहरमा ‘त्रिवेणी साँझ’ कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।