अविनाश चौधरी
धनगढी, जेठ २२ गते । च्यातिएको त्रिपालमुनि हुलाकी सडकमा बसाइँ । पानी पर्दा चुहिन्थ्यो, घाम लाग्दा पनि सकस । वर्षाभरि यसरी हुलाकी राजमार्गमा जीवन गुजार्दा भोगेको दुःखको पहाड भजनी नगरपालिका –५ पुलियापुरकी कोपिला टमटाले अझै बिर्सन सक्नुभएको छैन ।
“भोक, रोग, घामपानी सहँदै निकै दुःखका साथ सडकमा बस्यौँ” उहाँले भन्नुभयो, “यो दुःख हाम्रो लागि नयाँ हैन, तर गत वर्ष धेरै भोग्यौँ ।” गत वर्ष बाढी आएपछि उहाँको परिवार मात्रै हैन, पुरै पुलियापुरवासी विस्थापित भएर हुलाकी सडकमा आश्रय लिन पुगे । घर डुबेकोडुब्यै भएपछि उनीहरू चार महिनासम्म आफ्नो घर फर्कन सकेनन् ।
हरेक वर्षजसो डुबान समस्या झेल्दै आएका कोपिलासहित पुलियापुरवासीलाई अब त्यसबाट छुटकारा पाउने आस पलाएको छ । सहयोगी निकायसमेतको सहयोगमा स्थानीय सरकारले अग्लो सुरक्षित आवास निर्माण गर्न थालेपछि डुबान समस्याबाट छुटकारा पाउनेमा उनीहरू आशावादी देखिएका हुन् ।
“अग्लो घर बन्न थाल्दा खुसी लागेको छ । चाँडै घरभित्र अब पानी पस्दैन” टमटाले भन्नुभयो, “नदीले कटान गर्ला कि भन्ने चिन्ता छ ।” कान्द्रा नदीनजिक रहेकाले अबको बर्खामा बस्तीतिर आउने चिन्ता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कटान रोक्न तटबन्ध गरिदिएमा अति नै आभारी हुने थियौँ ।”
भजनी नगरपालिकाले पुलियापुरका बाढी प्रभावित १६ परिवारको लागि सुरक्षित आवास निर्माण गर्न लागेको हो । ९५ लाख ४६ हजार रुपियाँ लगानीमा प्रभावित परिवारका लागि १६ वटा घर बनिरहेको छ । जसमा नगरपालिकाको ४० लाख, लुथरन विश्व फिडरेशन, दिगो विकास समाजको ३२ लाख अनुदान सहयोग रहेको छ । त्यस्तै, प्रभावितहरूले २३ लाख ४६ हजार रुपियाँ बराबरको अनुदान सहयोग गर्ने जनाइएको छ ।
१६ परिवारका लागि दुई कोठाको घर बनिरहेको स्थानीय तेजबहादुर कामीले बताउनुभयो । उहाँका अनुसार पक्की घरमा छाना भनेजस्ताको हुनेछ । “यो घर बनेमा हामीलाई राहत हुनेछ” उहाँले भन्नुभयो, “बर्सेनि डुबान समस्या झेल्दै आएका छौँ । अग्लो घर भएमा त्यो समस्याबाट छुटकारा मिल्छ ।”
गएको चैत १७ गतेबाट उनीहरूको घर निर्माणको काम थालिएको हो । आगामी असार २० गतेभित्रै घर निर्माणको कार्य पूरा गरिने जनाइएको छ । सुरक्षित घरसँगै सुरक्षित बाटो भएमा जनजीवन निकै सहज हुने स्थानीय प्रकाश टमटाले बताउनुभयो । उहाँले हुलाकी राजमार्गको छेउमा बाटोमा कल्भर्ट बनाउनुपर्ने माग गर्नुभयो ।
भजनी नगरपालिकाको अन्य क्षेत्रमा पनि थुप्रै बाढी प्रभावित रहे पनि पुलियापुरवासी अत्यधिक प्रभावित र विपन्न रहेका कारण उनीहरूलाई प्राथमिकता दिएर सुरक्षित आवास निर्माणको कार्य थालिएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो ।