• १६ चैत २०८०, शुक्रबार

हजामले गर्दथे दाँतको उपचार

blog

जबदेखि मानव जातिमा दाँतको विकास भयो तबदेखि दाँतलाई ठिकठाक र सही आकारमा राख्नु एक चुनौती नै छ । इतिहासवेत्ताहरूको विश्वास के छ भने कम्तीमा पनि इसापूर्व ७००० देखि दन्तविद्या प्रचलनमा आएको हुनुपर्छ । इस्वी संवत्को १९औँ शताब्दीको उत्तराद्र्धमा हजामले कपाल काट्नुका साथै दन्त उपचारसमेत गर्दथे । उनीहरू प्रायः कपाल काट्दै दाँत निकाल्थे ।  

सरसर्ती भन्नुपर्दा शताब्दीयौँदेखि दन्त उपचारमा स्वप्रयास हुने गरेको देखिन्छ, आधुनिक युगमा समेत दाँतको समस्या समाधानको प्रयास आफैँ गर्ने मानिस छन् ।

दाँतको उपचारको कुरा आउँदा दाँतको सरसफाइलाई बिर्सन हुँदैन । दाँतको सरसफाइमा ध्यान दिए दाँतलाई स्वस्थ राख्न सकिन्छ । दाँत सरसफाइमा अचेल प्रयोग हुने वस्तु हो ‘टुथब्रस’ अर्थात् दाँत माझ्ने ब्रस । दन्त क्षयको कारण बारेका मान्यता परिवर्तन भएको छ । प्राचीन समयमा दाँतमा कीरा नै लाग्ने भनिन्थ्यो (यद्यपि यो मान्यता अझै पनि अस्तित्वमा छ) तर आधुनिक विज्ञानले दाँत कीराले बिगार्ने होइन, बरु ब्याक्टेरियाले दाँतमा फोहोर जमाउने स्पष्ट पारेको छ र त्यहीअनुसार उपचार गर्दछ । यसै कारण दाँतमा ब्याक्टेरियाको सङ्क्रमण नहोस् भनी टुथब्रस र मन्जनले दैनिक दाँत सफा गर्नु पर्दछ । 

टुथब्रसको आविष्कार चीनमा भएको मान्यता छ । इस्वी संवत् ६१८ देखि ९०७ बीच चीनमा ताङ साम्राज्य रहेको अवधिमा टुथब्रस आविष्कार भएको मानिन्छ । टुथब्रसको आरम्भिक मोडेल बाँसको झिक्रा वा हड्डी थिए । दाँत माझ्न तिनमा बँदेलको रौँ प्रयोग गरिन्थ्यो । 

बेलायतका विलियम एडिसले दङ्गा गरेको आरोपमा जेल परेका बेला सन् १७८० मा सानो खालको टुथब्रस बनाएका थिए । पछि उनले त्यस माडेलको ब्रसको बृहत् उत्पादन सुरु गरे । सन् १८५७ मा अमेरिकाको वासिङ्टनका दन्त रोग विशेषज्ञ एच. एन वड्सवर्थले टुथब्रसमा अमेरिकाको पहिलो पेटेन्ट लिएका थिए । त्यसपछि कैयौँ टुथब्रस बजारमा ल्याइए । सन् १९३८ मा नाइलनले बनाइएका टुथब्रस बजारमा बिक्री हुन थालेको थियो । 

 सन् १९३७ मा अमेरिकाका आविष्कारक टमलिन्सन मोजलीले विद्युतीय टुथब्रसको एक डिजाइनको पेटेन्ट लिए तर यो डिजाइनले बजार लिन सकेन । बरु स्विट्जरल्यान्डका फिलिप गे वुगले सन् १९४५ मा बनाएको विद्युतीय टुथब्रसले भने उपभोक्ताको ध्यान आकर्षित ग-यो । उनले खासै हिँडडुल गर्न नसक्ने मानिसका लागि सो ब्रस बनाएका थिए तर चाँडै नै आम उपभोक्ताका लागि पनि यो ब्रस बजारमा उपलब्ध भयो । 

टुथपेस्ट (मन्जन)

अचम्म लाग्न सक्छ टुथब्रसभन्दा पहले नै टुथपेस्ट अस्तित्वमा थियो । इसापूर्व ३०००–५००० तिर प्राचीन इजिप्टमा सर्वप्रथम दाँतमा लगाउने क्रिम बनाइयो । जुन गोरुको खुर, अमला, अन्डाको बोक्रा र झ्यालढुङ्गो पिसेर बनाइएको हुन्थ्यो । त्यसपछि इसापूर्व १००० तिर पर्सियावासीले जिप्सम, मह र जडीबुटीका साथै सङ्खेकिराको सिपीको खरानीसमेत त्यसमा मिसाएर मन्जन बनाएका थिए ।

शताब्दीयौँपछि व्यावसायिक रूपमा अनेक खालका मन्जन बजारमा उपलब्ध हुँदा समेत मानिसले आफैँ विशेषखालका मन्जन बनाउन र प्रयोग गर्न छाडेनन् । सन् १८६० मा प्रकाशित पुस्तक ‘द प्राक्टिकल हाउसवाइफ’मा घरमै मन्जन बनाउने विधि बताइएको थियो ।

अमेरिकाको दन्त रोग विशेषज्ञ वासिङ्टन वेन्टवर्थ सेफिल्डले सर्वप्रथम सन् १८८० को दशकमा निचोर्न मिल्ने ट्युबमा टुथपेस्ट प्याकिङ जुक्ति खाजे । त्यसअघि सिसी, पोर्सेलिनका भाँडा र कागजका बक्समा मन्जन राखेर बेच्ने गरिन्थ्यो । सन् १९५५ मा पहिलो पटक फ्लोराइडयुक्त मन्जन बनाइयो । फ्लोराइड भएको मन्जनले दाँतमा फोहोर जम्न नदिने कुरा अनुसन्धानबाट पत्ता लागेको थियो । 


–युवामञ्च