• ४ वैशाख २०८१, मङ्गलबार

‘प्लास्टिकजन्य फोहोर प्रमुख चुनौती’

blog

काठमाडौँ, जेठ २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानप्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्न सबैसँग आग्रह गर्नुभएको छ। प्लास्टिकजन्य फोहोर वर्तमान समयको प्रमुख वातावरणीय चुनौती बनेको बताउँदै उहाँले विकासलाई वातावरणमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना दिँदै उहाँले प्रदूषणको असर कम गर्न नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषय तथा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न यस दिवसले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

घरवरिपरिको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उहाँको भनाइ छ। प्रकृतिको निर्मम दोहनले जलवायु परिवर्तन तथा जैविक विविधताको ह्रास हुँदै गएको उल्लेख गर्दै उहाँले यी चुनौतीबाट नेपाल पनि अछुतो नरहेको तथा हिमाली भेग, उच्च पहाड, चुरे र तराईका फाँटसम्म जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको उल्लेख गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिन्छ। ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौंँ’ भन्ने नारासाथ यस वर्ष यो दिवस मनाइँदै छ। यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरण प्रदूषण न्यूनीकरण गर्न सबै सरोकारवाला पक्षको सक्रिय   सहभागिता आवश्यक रहेको बताउनुभएको छ। 

विश्व वातावरण दिवसका अवसरमा शुभकामना दिँदै उहाँले प्लास्टिक प्रदूषणले सिङ्गो पृथ्वीलाई पार्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो।