• १३ वैशाख २०८१, बिहिबार

विपत् जोखिम न्यूनीकरण अभ्यास

blog

गौर समाचारदाता

गौर, जेठ २० गते । विपत्को समयमा हुने जनधनको क्षतिबाट जोगाउने उद्देश्यले नेपाली सेना वीरदल गण पुरेनवा ब्यारेकले राजदेवी नगरपालिकाको ब्रह्मपुरीस्थित बागमती नदीमा तालिम तथा अभ्यास गरेको छ। नेपाली सेना वीरदल गणको संयोजकत्व अन्य सुरक्षा निकाय र सरोकारवाला सङ्घ संस्थाको सहभागितामा सञ्चालित जेठ १३ देखि १९ गतेसम्म सामुदायिक विपत् प्रतिकार्य तालिम तथा अभ्यास मनसुन–३ सम्पन्न गरेको हो।

विपत् प्रतिकार्य तालिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध मावि गौरका एमसीसी, गौर नगरपालिकाका नगर प्रहरी, रेडक्रस, प्रादेशिक अस्पताल गौर, आरडिसी, माण्डवी, जनप्रतिनिधि तथा स्थानीयवासीलगायतको सहभागिता रहेको नेपाली सेना वीरदल गण पुरेनवा ब्यारेकका गणपति गङ्गाबहादुर विष्टले बताउनुभयो।

विपत् प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रममा नेपाली सेना श्री नं. २८ बाहिनी जितपुर बाराका बाहिनीपति सहायक रथी सानुकाजी थापाले मनसुनको समय आगमनसँगै हुने सम्भावित बाढी, डुबान, कटान जस्ता विपत्को समयमा हुने सर्वसाधारणको जनधनको क्षति हुनबाट जोगाउने उद्देश्यले बागमती नदीमा गरिएको तालिम तथा अभ्यासले जोखिम न्यूनीकरणमा निकै नै फलदायी हुने बताउनुभयो। उहाँले दैवी प्रकोपमध्ये बाढीको बेलामा कसरी आफू बच्ने र अरूलाई बचाउने तरिका नेपाली सेनाका जवानले अभ्यासमूलक कार्य गरेर नमुना प्रदर्शन गरेको र त्यसबाट बाढीको समयमा सर्वसाधारणलाई जोगाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो।

गौर नपाका प्रमुख शम्भु साहले विपत् प्रतिकार्य अभ्यासको क्रममा प्रभावित क्षेत्रका व्यक्तिलाई जिउ ज्यान तथा धनमालको सुरक्षा हुने विधिलाई नमुनाका रूपमा प्रदर्शन गरिएको बताउँदै दैवी प्रकोपका घटनालाई कसैले रोक्न नसक्ने भए पनि यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्नमा यस्ता तालिम अभ्यास सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले विपत् जोखिमबाट जोगिने डेमो (नमुना) परीक्षण कार्यक्रममा जोखिमको समयमा तालिमप्राप्त सुरक्षाकर्मीका साथै स्थानीय बासिन्दा आफ्ना पालिकाभित्र आएको विपत्को समयमा धैर्यका साथ मानिसलाई जोगाउन सकिने बताउँदै यो अभ्यास फलदायी हुने बताउनुभयो।