• ७ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

blog

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गर्दै । तस्बिर : रासस

रमेश लम्साल

इन्दोर, जेठ १९ गते । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको छ । 

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताउनुभयो । 

कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिनुभयो । 

सो केन्द्रले फोहरलाई व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उहाँको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ । 

केन्द्रको अवलोकनपश्चात् प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिकहरू पठाई फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताउनुभयो । 

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गर्नुभएको थियो । 

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न आज बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुग्नुभएको हो । इन्दोर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रि भोजको आयोजना गर्नुभएको छ । 

प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत जानुभएको हो । रासस