• १२ साउन २०८१, शनिबार

ड्रागन खेतीमा कृषकहरुको आकर्षण बढ्दो

blog

अनुदानमा ड्रागन फ्रुटको बेर्ना तथा पिलर बितरण गर्दै गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा लगायत । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, जेठ १९ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीलाई व्यावसायिक बनाउँदैलगेको छ । किसानलाई ड्रागन फ्रुटतर्फ आकर्षित र प्रेरित गर्न आफैले खेती शुरु गरेको पालिकाले पछिल्लो समय किसानलाई पनि सहयोग गर्दैआएको छ । 

गाउँपालिका –४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर फ्रुट लगाइएको बताउँदै अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, “पछिल्लो समय कृषकको समेत आकर्षण बढेको छ ।” सिँचाइका लागि पर्याप्त पानी नचाहिने, स्थानीय हावापानी र माटो सुहाउँदो खेती भएकाले नमूनाका रूपमा खेती गरेका थियौ, अध्यक्ष थापाले भन्नुभयो । 

उहाँले भन्नुभयो, “सुरु चरणमा स्थानीय किसान, कृषक समूह र सहकारीलाई यो खेतीका लागि प्रोत्साहन गर्ने नीति लियौँ, तर यहाँका लागि नयाँ भएकाले खासै रुचि नदेखाएपछि गाउँपालिकाले नै सुरुवात गरेको हो ।”

“अध्ययनअनुसार सुक्खा ठाउँ, पानी थोरै भए पनि हुने र यहाँको हावापानी तथा माटोअनुसार यस्तो खेतीको सम्भावना बढी देखियो” अध्यक्ष थापाले भन्नुभयो, “यसको व्यावसायिक उत्पादन यहाँ सम्भव छ भन्ने देखाएर किसानलाई प्रेरित गर्न शुरु गरेका हौं ।”

यसैबीच गाउँपालिकाले इच्छुक किसान, कृषक समूह तथा सहकारीलाई बिरुवामा ५० प्रतिशत अनुदान र पोलमा शतप्रतिशत अनुदानका साथ वितरण गरेको छ । कृषकको माग र उनीहरुले तयार गरेको जग्गाको आधारमा पालिकाका ८ जना कृषकलाई ड्रागन फ्रुटको बेर्ना तथा पिलर वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । 

किसानलाई तीन सय २५ पिलर शतप्रतिशत अनुदान र नौं सय ४५ बेर्ना पचास प्रतिशत अनुदानमा बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयको भनाइ छ । 

आवश्यक प्राविधिक तालिम तथा सहयोग उपलब्ध गराउने पालिकाले जनाएको छ । माटो सुहाउँदो खेतीका लागि आकर्षित गराउन अनुदान उपलव्ध गराइएको अधिकृत पाण्डेयले बताउनुभयो ।  

ठूला समथर बारीका पाटा भएर पनि सिँचाइको अभाव भएकाले लिफ्टिङ गरी पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको पालिकाले जनाएको छ । यहाँको किसान, समूह सहकारीका लागि आम्दानीको स्रोत बन्न सक्ने पालिकाको विश्वास छ ।  किसान, समूह तथा सहकारीले उत्पादन गरेका बिरुवा तथा फल बिक्रीको व्यवस्था गाउँपालिकाले नै गरिदिने अध्यक्ष थापाले बताउनुभयो ।