• १४ वैशाख २०८१, शुक्रबार

कीचकवध पोखरी निर्माणमा तीव्रता

blog

रङ्गेली समाचारदाता

विराटनगर, जेठ १९ गते । विराट राजाको दरबार क्षेत्रमा कीचकवध पोखरी निर्माण भइरहेको छ। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बिहीबार पोखरी निर्माणको अवस्थाका विषयमा स्थलगत निरीक्षण गर्नुभएको छ। 

ठेकेदार पक्षसँग हालसम्मको निर्माण अवस्थाका विषयमा जानकारी लिएका कोइरालाले कामलाई तीव्रता दिन निर्देशन दिनुभयो। चालू आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले एक करोड रुपियाँ छुट्याएको थियो तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्स्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपियाँमा ठेक्का कबोल गरेको छ। अनुगमनका क्रममा  प्रमुख कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो। 

महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठुला योजनाहरू सञ्चालन गरिरहेको दाबी उहाँको छ। दक्षिणी क्षेत्रमा विराट राजाको दरबारसँगै रानीपोखरी र मन्ठापोखरीको पुनर्निर्माणसँगै सौन्दर्यीकरणसमेत भइरहेको छ। धार्मिक र सांस्कृतिक महìव बोकेको विराट राजाको दरबारसहित तीन वटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा छ। कुल १६ करोड जनसङ्ख्या भएको विहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको प्रमुख कोइरालाको भनाइ थियो। 

महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोमा स्थानीयवासीसमेत खुसी देखिएका छन्। स्थानीय नित्यानन्द यादवले महानगरको हालको नेतृत्वले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। निर्माण कम्पनीका रञ्जित झाले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको दाबी गर्नुभयो। गुणस्तरसँगै कामसमेत अन्तर्राष्ट्रियस्तरमा भइरहेको उहाँको दाबी छ। निर्माणाधीन पोखरीको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ। पोखरी वरिपरि प्यारापिट, आकर्षक बगैँचा, फूलबारी, विश्रामस्थल, कटेज, कलात्मक प्रवेशद्वारलगायत निर्माण हुने छ।