• ८ वैशाख २०८१, शनिबार

चलचित्र ‘राधा’ लाई तीन अन्तर्राष्ट्रिय अवार्ड

blog

काठमाडौँ, जेठ १९ गते  ।  सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘राधा’ ले फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फामे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा तीन विधामा अवार्ड प्राप्त गरेको छ ।

अमेरिकामा ‘राधा’ को विशेष प्रदर्शनीमा व्यस्त रहनुभएका थापाले फेस्टिभलमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ, उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भएको जानकारी दिनुभयो । सो फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘द सेक्रेट  अफ राधा’ लेखन, निर्देशन, अभिनय, चलचित्र सेट डिजाइन, सम्पादन तथा छायाङ्कनलगायत सात विधामा मनोनयनमा परेको थियो । 

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला चलचित्रकर्मी र महिला चरित्रलाई उत्प्रेरित गर्ने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको छ । निर्देशक थापाको लेखनसमेत रहेको चलचित्रले महिलाको सहनशक्तिको चरित्रको कथालाई प्रस्तुत गरेको छ । 

चलचित्रको अस्ट्रेलियामा सफल प्रदर्शनपछि अहिले अमेरिकाको विभिन्न राज्यमा विशेष प्रदर्शन भइरहेको छ । अमेरिकापछि क्यानडामा समेत विशेष  प्रदर्शन  हुने निर्देशक थापाले जानकारी दिनुभयो । सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र नेपाल प्राविधिक सङ्घले आयोजना गरेको नेफ्टा अवार्डमा समेत १० विधामा मनोनयनमा परेको थियो  ।