कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ १८ गते । बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन सुरु भएको छ। बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो।
देवदह नगरपालिका–९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयले आवाज उठाउँदै आएका थिए। देवदहका स्थानीयसमेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियन्ताले दाबी गरे अनुसार देवदहको खोजीका लागि उत्खनन महìवपूर्ण बन्न सक्ने बताउनुभयो।
उहाँले कोषले बौद्ध पुरातात्त्विक क्षेत्रहरूको उत्खनन र संरक्षणमा पुरातत्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको जानकारी दिनुभयो। देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्त्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गम्भीर रूपमा उत्खननको काम गर्न थालेको उल्लेख गर्नुभयो। भट्टराईले भन्नुभयो, “देवदह कुन हो, त्यसका लागि पुरातात्त्विक रूपमा पुष्टि हुन बाँकी छ । तर खयरडाँडा पुरातात्त्विक स्थल रहेकोमा कुनै शङ्का छैन। त्यसैले त्यस क्षेत्रको उत्खनन गर्नु जरुरी छ।”
देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्त्विक स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्त्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने उहाँको भनाइ छ। उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले खयरडाँडा क्षेत्र नै कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र रहेको दाबी गर्नुभयो। उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टि रोहिणी नदी रहेकाले यही क्षेत्र नै देवदह भएको आफूहरूको विश्वास रहेको बताउनुभयो।
उहाँले लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन सुरु गरेर पुरातात्त्विक स्थल र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्वपूर्ण योगदान पु-याउने बताउनुभयो। नगर प्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्त्विक वस्तु र स्मारकहरूलाई नगरपालिकाले सङ्ग्रहालय बनाएर राख्ने प्रतिबद्धता जनाउनुभयो।
सात जनाको टोली उत्खननमा
लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सात जनाको टोली उत्खननमा खटिएको छ। लामो समयदेखि स्थानीयको माग रहे पनि विविध कारणले हुन नसकेको उत्खनन यो पटक सुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताउनुभयो।
स्थानीयको दाबी अनुसार खयरडाँडा बुद्धको मावली कोलीय गणराज्यको राजधानी देवदहको दरबार क्षेत्र हो। पुरातात्त्विक रूपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरू जुटाउने अपेक्षा गरिएको छ।
बुधबारदेखि सुरु भएको उत्खनन असार १५ सम्म चल्ने छ। यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो। कोषले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ देखि जेठ ३ सम्म उत्खनन गरेको छ।