• १० मंसिर २०८१, सोमबार

फलदायी हुने विश्वास

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा हुनुहुन्छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित नेपाल–भारत सम्बन्ध थप बलियो बनाउँदै नेपालको अर्थतन्त्र सुधार र विकास गतिविधिलाई बढावा दिने आशा र अपेक्षा छ । केपी ओली नेतृत्वको सरकारको पालामा द्विपक्षीय संवाद नै रोकिएको अवस्थाबाट तत्कालीन प्रधानमन्त्री देउवाले विश्वासको वातावरण सिर्जना गरी भारतको राजधानी दिल्लीमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको र यसलाई संवादमार्फत समाधान गर्ने विषयमा समकक्षी नरेन्द्र मोदीलाई सहमत गराउनुभएको थियो । 

विश्वकै सबैभन्दा ठुलो जनसङ्ख्या भएको र विश्वको सबभन्दा ठुलो लोकतन्त्रका मुलुक भारत सुपर पावको दौडमा छ । सन् २०१४ मा नरेन्द्र मोदी पहिलो कार्यकालका लागि प्रधानमन्त्री बनेलगत्तै भारतले ‘छिमेकी पहिलो’ नीति अवलम्बन गरेको पाइन्छ । उहाँको विदेश भ्रमणको पहिलो रोजाइमा पनि नेपाल परेको थियो । मोदीले नेपालसँग द्विपक्षीय मित्र राष्ट्रको मात्र नभएर आर्थिक र विकासका साझेदारीसहित धार्मिक, सांस्कृतिक सम्बन्धलाई सँगै लगेर द्विपक्षीय हितलाई नयाँ उचाइमा पु-याउन चाहनुहुन्छ । 

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सम्बन्ध विश्वमै उदाहरणीय रहेको पनि बताउनुभएको थियो । जनता–जनताबिचको विशिष्ट सम्बन्ध रहेको छिमेकी मुलुक पाउनु नेपालका लागि पनि निकै ठुलो अवसर हो । यस अवसरलाई ‘क्यास’ गर्न नेपालका राजनीतिज्ञ र सत्ताधारीको स्पष्ट दृष्टिकोण आवश्यक छ । 

बेलायतको अधिनस्थबाट स्वतन्त्र भएको ७५ वर्षकै अवधिमा विश्व मञ्चमा नेतृत्व गर्नसक्ने सम्भावित राष्ट्रको सूचीमा दरिने दाउमा रहेको भारतले प्रविधिको विकासमा लामो फड्को मारेर समुद्रदेखि अन्तरिक्षसम्मको नेतृत्व गर्न सक्षम भएको छ । पाँच ‘टी’ सूत्र – ट्रेडिसन (परम्परा), टुरिजम (पर्यटन), ट्रेड (व्यापार), ट्रान्सपोर्ट (यातायात) र टेक्नोलोजी (प्रविधि) मा सहकार्य गरेर आफ्नो कमजोर आर्थिक स्थितिलाई बलियो बनाउनसक्ने सामथ्र्य नेपालसँग भए पनि त्यसका लागि प्रयास भने गरिएको छैन । अहिलेको प्रचण्डको भारत भ्रमणका क्रममा यस्ता विषयमा सार्थक र परिणाममुखी छलफलको अपेक्षा गरिएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले यसअघि नेपाल भ्रमणका क्रममा भनेका थिए, ‘आफ्नो पहाडजत्रो दुःखलाई लुकाएर भए पनि मित्रको सानो दुःखमा साथ दिनु पर्छ ।’ यस मूल मर्मलाई भारतीय पक्षले बारम्बार प्रमाणितसमेत गर्दै आएको छ । २०७२ सालमा आएको महाभूकम्पको राहत र उद्धार होस् अथवा भूकम्पमा भएका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको कुरामा होस् । २०७७ मा सुरु भएको कोरोना महामारीको समयमा मोदीको उक्त भनाइ थप पुष्टि भएको छ । 

कोरोना महामारीले आक्रान्त भएको समयमा भारतले आफ्नो जनसङ्ख्यालाई पूर्ण खोप दिन नसकिरहेको अवस्थामा छिमेकी पहिलो नीतिअन्तर्गत पहिलो खेपमा १० लाख डोज खोप नेपाललाई उपलब्ध गराएको थियो । कोरोना महामारीलाई कारण देखाउँदै चीनले नेपालको सीमा बन्द गराएको समयमा पनि नेपाल–भारतबिच भने सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर दुई देशका नागरिकको आवतजावत र दैनिक उपभोग्य वस्तुसहितको आपूर्ति निर्वाध सञ्चालन भयो । 

दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) कोमामा पुगेको समयमा भारतीय प्रधानमन्त्री मोदीले कोरोना महामारी नियन्त्रणका लागि साझा पहल गर्न सार्क राष्ट्रको भर्चुअल बैठक बोलाएर सङ्कटमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने सन्देश दिएका थिए । नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि राजनीतिक तहमा दुई मुलुकबिचको सम्बन्धमा चिसोपना आए पनि जनस्तरको सम्बन्ध भने थप कसिलो बन्दै गएको अलौकिक उदाहरण पनि हाम्रासामु रहेको छ । लामो समयदेखि साझा सपना र सफलताको आकाङ्क्षासहित 

अस्तित्वमा रहेको सौहार्दपूर्ण नेपाल–भारत सम्बन्धको महत्व निरन्तर बढ्दो छ ।

हरेक वर्ष नेपालको शैक्षिक पूर्वाधार, अस्पताल, विमानस्थल, सडक सञ्जाल, रेलवे, बिजुली प्रसारण तथा ऊर्जा विकाससहित आधुनिकीकरणका सबै क्षेत्रमा ठुलो सहयोग गर्दै आएको नेपालको सदाबहार आर्थिक साझेदार भारतले ठुलो सहयोग गरेको छ भने नेपालले पनि भारतको विकासमा ठुलो योगदान दिएको छ । भारतीय स्वतन्त्रताको लडाइँमा नेपालले साथ नदिएको भए सायद आजको भारत हुने स्थिति नहुन सक्थ्यो । यो कुरालाई भारतको अहिलेको सत्ताले राम्रोसँग बुझेकै कारण तमाम मतभिन्नताका बाबजुद दुई मुलुकबिचको सम्बन्ध सधैँ बिन–बिनको अवस्थामा छ । अहिले पनि भारतीय सीमाको सुरक्षामा नेपाली खटिएका छन् भने कर्तव्य पालनाकै व्रmममा कैयौँ नेपालीले बलिदानी पनि दिएका छन् । 

त्यसै गरी भारतले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडक, कोशी ब्यारेज, कर्णाली पुल, जनकपुर–जयनगर रेल, एकीकृत भन्सार चौकी, नेपाल–भारत पेट्रोलियम पाइपलाइनलगायतमा सहयोग गर्दै आएको छ । यसै गरी, नेपाल–भारत विद्युत् प्रसारण लाइन, अरूण तेस्रो परियोजना, ट्रमा सेन्टर, बिपी कोइराला चिकित्सा विज्ञान संस्थान, नेपाल–भारत पुस्तकालय, पशुपति धर्मशाला, जयनगर–कुर्था रेल आयोजना आदि नेपालको विकासमा भारतले लगानी गर्दै आएको छ । 

दुवै मुलुकले एक–अर्काको विकास र सुरक्षामा ठुलो योगदान गरेको भए पनि दुई मुलुकबिचको सम्बन्ध कसले कसलाई के दियो भन्ने आधारको तौलमा मात्र सीमित राख्नु अन्यायपूर्ण हुन्छ । नेपाल र भारतबिच अतिविशिष्ट र बहुआयामिक सम्बन्ध छ । विशेष कालखण्डमा जनआकाङ्क्षाका आधारमा राजनीतिक सम्बन्ध बनेका छन् । भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीको सव्रिmय सहभागिता रह्यो भने नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रह्यो । 

दुई देशबिचको सम्बन्धलाई विशिष्टताको कसीमा उतार्न मोदीले भन्नुभएको थियो, ‘समुद्रभन्दा गहिरो नेपाली धर्मनिष्ठा र सगरमाथाभन्दा अग्लो नेपाली स्वाभिमान रहेको छ ।’ नेपाल र भारतको सम्बन्ध इतिहासका पुस्तक लेखिनुअघि विभिन्न धर्मग्रन्थमा उल्लेख भएको ऐतिहासिक मौलिकतामा आधारित सम्बन्ध हो । यस सम्बन्धलाई नेपालको समृद्धिको यात्रामा जोडेर राष्ट्रिय हितका कैयौँ परियोजना सञ्चालनमा सहकार्य गर्न सकिने मार्गबारे नेपाल प्रस्ट हुनुपर्ने देखिन्छ । 

नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्धको यथार्थलाई ध्यानमा राखेर अर्को छिमेकी चीनसँगको सम्बन्धमा खलल पुग्न नदिनेतर्फ पनि नेपालको सत्ता सजग हुन आवश्यक छ । यससँगै इन्डो प्यासिफिक रणनीति, स्ट्रिट अफ पर्ल, चतुर्भुजीय सुरक्षा संवाद र विश्व भू–राजनीतिमा पूर्वी एसियाको महìव राम्रोसँग बुझेको र विश्व महाशक्ति राष्ट्र बन्ने होडमा दौडिन त्यति सजिलो छैन भन्ने जानेको भारतलाई पनि नेपालको महìव र आवश्यकता टड्कारो छ । वर्तमान शक्ति राष्ट्रले आफ्नो दबदबा कायम राख्न भारतकै विरुद्ध उसका छिमेकी राष्ट्रहरूलाई प्रयोग गर्न सक्छन् भन्ने यथार्थ बुझेको भारतका लागि पनि नेपालको सहयोग चाहिएको छ । 

यस्तो परिस्थितिमा दुवै मुलुकले एक–अर्काको आर्थिक र सुरक्षा संवेदनशीलतालाई बुझेर द्विपक्षीय हितका विषयमा सहकार्य गरी अघि बढ्नुको विकल्प छैन । त्यसकारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई सही ट्र्याकमा ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणका विषयमा गर्ने समझदारी र सम्झौतासँगै दुवै देशबिच हार्दिक, आत्मीय र सम्मानजनक सम्बन्ध बनाउँदै आफ्नो राष्ट्रिय सामथ्र्य र प्रयत्नको आयातन विस्तार गर्न फलदायी हुने अपेक्षा गरिएको छ ।

लेखक नेपाल प्रेस युनियनका सचिव हुनुहुन्छ ।

   

Author

खगेन्द्र भण्डारी