नागेन्द्रकुमार कर्ण
महोत्तरी, मङ्सिर २ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा सोमबार साँझ एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।
जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका ९ आगेपुर निवासी करिब ६० वर्षीय बेचन राइनको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले वृद्ध राइनको हत्या गरेको आरोपमा जिल्ला धनुषा नगराइन नगरपालिका ९ फुलगामा निवासी अन्दाजी २० वर्षीय गुड्डू मण्डललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
हत्यापछि सोही वड़ाको अर्को टोलमा रहेको आफ्नो दिदीको घर छेउछाउमा लुकेको अवस्थामा मण्डललाई पक्राउ गरिएको हो ।
मृतक बेचन राइनको छोरा सिरातुन राइनले बुवाको टाउकोको पछाडी करिब चार चोटी खुकुरीले प्रहार गरिएको र राइनको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
हत्या गर्ने मण्डल रक्सीको नशामा लठिएको अवस्थामा रहेको बताउनुहुँदै सिरातुनले मेरो बुवा कसैसँग झगडा नगर्ने मान्छे रहेकाले राइनको हत्याका कारणबारे आफुलाई थाहा नभएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता भट्टले हत्याको यकीन कारण अनुसन्धानपछि मात्र खुल्ने जानकारी दिनुहुँदै हत्या लगत्तै जानकारी पाएको प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान बढाएको बताउनुभयो ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ थप अनुसन्धानपछि जानकारी दिइने प्रवक्ता भट्टले बताउनुभयो ।