• ७ वैशाख २०८१, शुक्रबार

फैलियो ‘लम्पी स्किन’ रोग

blog

अमरराज नहर्की 

तनहुँ, जेठ १६ गते । तनहुँका सबै पालिकामामा गाई, भैँसीमा देखिएको ‘लम्पी स्किन’ रोग महामारीका रूपमा फैलिएको छ। कैयौँ चौपाया यसै रोगले गर्दा मरेका छन्। दुई हप्ता अघिदेखि रोग फैलिएर गाई, भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन्। 

समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाई, भैँसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीका रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ। केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले महामारीले गर्दा छोटो अवधिमै जिल्लाभर ४३ गाई, भैँसी मरेको र ६४८ गाई, भैँसीमा रोग फैलिसकेको जानकारी दिनुभयो। 

केन्द्र प्रमुख श्रेष्ठका अनुसार सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा २३५ गाई, भैँसीमा फैलिएको छ भने १६ वटा मरेका छन्। यस रोगको सङ्क्रमण हुँदा गाई, भैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने र पछि गिर्खाहरू फुट्ने गरेको छ। आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो। 

रोगको सङ्क्रमणको दर अनुसार पशुको मृत्युदर न्यून रहेको उहाँको भनाइ छ। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता किराको टोकाइबाट यो रोग सर्ने श्रेष्ठले बताउनुभयो। गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती किरा बढी सव्रिmय हुने भएकाले यसको प्रकोप बढिरहेको उहाँले जानकारी दिनुभयो। गाई, भैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कतिपयको मृत्यु हुने केन्द्रले जनाएको छ। सङ्क्रमित  गाई, भैँसीको ओसारपसार, सामुदायिक चरन क्षेत्र दाना एवं पानी खाने साझा ठाउँ भएमा यो रोग छिटो फैलिने हुँदा सतर्कता अपनाउनु पर्छ। 

रोग नियन्त्रण र रोकथामको जनचेतना फैलाउन प्रचारप्रसार सामग्री तथा सूचना प्रकाशन गर्ने, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम  सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो। केन्द्रबाट आकस्मिक उपचार अन्तर्गत एक लाख रुपियाँको खोप खरिद गरिएको छ। रोग सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानुन बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गरिएको केन्द्रले जनाएको छ।

रोग लागेको पशुलाई अलग्गै राख्ने, उपचार तथा उपचारमा खट्नेले नुहाएर र कपडा परिवर्तन गर्न पर्ने, ओसारपोसार नगर्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधि अवलम्बन गर्न आग्रह गरिएको डा श्रेष्ठले जानकारी दिनुभयो। एक डोज चाहिने भए पनि डोज छुट्याएर किन्न नपाइँदा मर्का परेको किसानले बताएका छन्। २५ डोजको औषधी किन्न पाँच हजारमा खरिद गर्न बाध्य भएको व्यास नगरपालिका–५ चिन्तुटारका बलबहादुर दरैले बताउनुभयो।