• १४ वैशाख २०८१, शुक्रबार

छोराले नागरिकता पाउँदा धुरुक्क रुनुभयो सरदेवी

blog

अन्नपूर्ण गाउँपालिका –८ राम्चेका भविन्द्र पुनलाई नागरिकता प्रदान गरिदै । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १५ गते । ४१ वर्ष पुगेका अशक्त छोरा घरमा राखेर दैनिक रूपमा उनकै हेरचाह गर्नु सरदेवीको दैनिकी हो । २०३९ साउन १७ गते दोस्रो सन्तानका रूपमा जन्मिएका भविन्द्रको जन्मदै कम्मरमुनीको भाग कमजोर थियो । समयसँगै हुर्कँदै गएपछि शरीरको अन्य बनावटले आकार लियो । तर पनि खुट्टाले उचित आकार लिन सकेन । बोली पनि फुटेन, घिस्रेरै हिँड्न थाल्यो, भविन्द्रकी आमा सरनकुमारी पुनले सुनाउनुभयो । 

हिमाली जिल्ला म्याग्दीको उत्तरी भेग अन्नपूर्ण गाउँपालिका –८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते शनिबार नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । 

नागरिकताको प्रमाणपत्रमा औँठाछाप लगाउन पनि निकै मुस्किल परेको थियो, जब औँठा छाप लगाएर नागरिकता हातमा परेपछि मेरो हर्षको आँसु मैले रोक्नै सकिन उहाँको सरदेवीले भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘घरमै आएर नागरिकता दिने सबैलाई चाहेजतिको पुगोस्, भगवानले सबै पूरा गरिदिउन् भन्दै आशिष् दिएँ ।’ दुख पर्दा मात्रै हैन, खुसी हुँदा पनि आँसु रोक्न सकिँदैन, खुसी त कति हो कति सीमा नै छैन उहाँले भन्नुभयो, “अझ धेरै आशीष त मैले रमन सर र वडा अध्यक्षलाई दिएकी छु ।”

नेपाली वैज्ञानिक महावीर पुनको जन्मस्थान राम्चेको नागीमा पुगेर सहायक प्रजिअ सुवेदीले आवश्यक प्रक्रिया पूरा गरेर घरमै नागरिकता हस्तान्तरण गर्नुभएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो ।

हिमाचल माध्यमिक विद्यालय राम्चेका प्रधानाध्यापक रमन पुनको विशेष पहल तथा वडा कार्यालयको समन्वय र सहकार्यमा सदरमुकाम पुगेर नागरिकता बनाउन नसक्ने अवस्थाका व्यक्तिलाई प्रशासनको टोलीले नागरिकता दिएको थियो । सेवाग्राहीको घरमै नागरिकता दिन सकिएकोमा उत्साहित भएको अन्नपूर्ण गाउँपालिका –८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा पुनले भन्नुभयो ।

बाबा ओमबहादुर पुन र आमा सरनकुमारी पुनको कोखबाट २०३९ साउन १७ गते दोस्रो सन्तानको रूपमा जन्मनुभएका भविन्द्रको बोली समेत स्पष्ट छैन । उहाँ आफै सहज तबरले हिडडुल पनि गर्न नसक्ने अवस्थाको हुनुहुन्छ । एक दिदी र दुई बहिनी भएका भविन्द्र हिँडडुल गर्ने र अरूसँग कुराकानी गर्न समेत सक्नुहुन्न । 

जन्मदर्ताको आधारमा बनाएको ‘क’ वर्गको अपाङ्गता परिचयपत्रको आधारमा सामाजिक सुरक्षा भत्ता पाउने गर्नुभएको भए पनि अब नागरिकताबिना भत्ता प्रदान गर्न सक्ने अवस्था नभएको उहाँको आमाले बताउनुभयो ।

नागरिकता बनाउन पहल थालिएको र सफल पनि भएको अन्नपूर्ण –८ का सचिव बनिका गर्बुजा पुनले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै अन्य सेवा लिनका लागि पनि नेपाली नागरिकता चाहिने भए पनि जिल्लामा पुगेर बनाउन नसक्ने भएकाले पहल गर्दा सफल भएको उहाँले बताउनुभयो । अब गाउँमै आएर नागरिकता दिँदा जनताले सेवा पाए भने अब राज्यले तोकेको सुविधा लिनका लागि पनि उनीहरूलाई सहज भएको उहाँको भनाइ छ ।