• १३ वैशाख २०८१, बिहिबार

बेवारिसे शिशु नर्सको संरक्षणमा

blog

लहान समाचारदाता

लहान, जेठ १५ गते । प्रादेशिक अस्पताल लहानको प्रवेशद्वारमा मध्यराति अलपत्र अवस्थामा फेला परेका १५ दिने नवजात शिशु बालिकालाई अस्पतालकै नर्स विमला थापाले तत्काल संरक्षकत्व प्रदान गर्नुभएको छ। 

यही शुक्रबार राति १२:३० बजे अस्पतालको प्रवेशद्वारमा रहेको एक काउन्टरमा अलपत्र अवस्थामा राखिएकी शिशु रोएपछि सुरक्षाकर्मीले चिकित्सक टोलीलाई खबर गरेका थिए। चिकित्सक टोलीले नवजात शिशुलाई प्रसूति बाल कक्षमा ल्याएर तत्कालै उपचार गरेर नर्स थापाको निगरानीमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट शैलेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो। 

राति चिसोले कठ्याङ्ग्रिएका शिशुलाई प्रसूति कक्षमा रहेको वार्मरमा राखेर आधा घण्टा राखिएपछि सामान्य अवस्थामा आएका थिए। बालिकालाई लेक्टोजिन बोतल दूध खुवाएपछि शान्त भएको उहाँले जानकारी गराउनुभयो। एक हप्ताका लागि बच्चालाई हेरचाह गर्न जिम्मेवारी दिए अनुसार रेखदेख गरिरहेकी भन्दै नर्स थापाले शिशुको आमाबुवाको खोजी इलाका प्रहरी कार्यालय लहानले गरिरहेको बताउनुभयो। उहाँका अनुसार तीन किलो एक सय ग्राम तौल, ४८ सेन्टीमिटर लम्बाइ भएको शिशुको स्वास्थ्य अवस्था ठीक छ।

त्यस राति वर्षा भइरहेको समयमा बालिकालाई फालेर गएको हुन सक्ने अनुमान छ। अस्पतालको सिसी टिभी क्यामरामा देखाए अनुसार एक युवती स्कुटीमा चढेर आएकी देखिएको छ। तिनै युवतीले शिशु फालेर गएको हुन सक्ने प्रारम्भिक अनुमान छ। 

लहान अस्पतालमा वैशाख २७ गते अविवाहित एक युवतीले जन्माएकै शिशु हुन सक्ने चिकित्सकको अनुमान रहेको बताउँदै डा. चौधरीले शिशु जन्माएकी अविवाहित युवतीको नाम ठेगानासमेत इलाका प्रहरी कार्यालय लहानलाई जानकरी गराइसकेको बताउनुभयो। 

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक भोलाकुमार भट्टले नवजात शिशु बालिकाको आमाबुवाको खोजी भइरहेको जानकारी दिँदै सात दिनभित्र आमाबुवा जिम्मा लिन नआए शिशुको पालनपोषणका विषयमा मानव अधिकारवादी, महिला अधिकारवादीलगायत सङ्घ संस्थासँग पनि छलफल भइरहेको जानकारी दिनुभयो।