• ८ वैशाख २०८१, शनिबार

गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको छ: मन्त्री शर्मा

blog

काठमाडौँ, जेठ १५ गते । गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । गणतन्त्र दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले प्राप्त अधिकारको संरक्षण गर्न  गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको र अधिकार जनतासम्म पुर्‍याउँदै राज्यलाई समुन्नत बनाउन सबैको सहकार्य जरुरी भएको बताउनुभएको हो । 

गणतन्त्र दिवस, २०८० को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्नुभएको छ । नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको छ । यो वर्षको  गणतन्त्र दिवसलाई १५ वर्षको समीक्षासहित मनाउँदै छ । 

विस्तृतमा शुभकामना सन्देश: 

शुभकामना

गणतन्त्र दिवस, २०८० को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु । महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता तथा घाइते योद्धासहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको छ । यो वर्षको  गणतन्त्र दिवसलाई १५ वर्षको समीक्षासहित मनाउँदैछौं ।  राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका लगायत सबै नागरिकले  विशिष्ट अधिकार प्राप्त गरेका छन् । गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको छ । प्राप्त अधिकारको संरक्षण गर्न  गणतन्त्रलाई थप बलियो बनाउन  आवश्यक छ । अधिकार जनतासम्म पुर्‍याउँदै राज्यलाई समुन्नत बनाउन सबैको सहकार्य जरुरी छ । 

वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै सुरु गरेको सुशासन र सहज सेवा प्रवाहको अभियानबाट बिस्तारै नतिजा प्राप्त हुन थालेको छ । भ्रष्टाचारविरुद्ध सरकारले आफ्नो दृढता प्रस्तुत गरिरहेको छ भने विभिन्न सेवा प्रवाहका क्षेत्रलाई जनतामैत्री बनाउँदै लगेको छ । सडक, सदन र सञ्चारमाध्यममार्फत सार्वजनिक हुने समस्या तत्काल सम्बोधन गर्ने गरी सरकार अघि बढिरहेको छ । 

सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको प्राथमिकतामा रहेकाले यस्ता काम अझै प्रभावकारीरुपमा अघि बढ्दै जानेछन् । तमाम बेथितिको अन्त्य गर्दै थालिने यस प्रकारका अभियानबाट राज्यप्रतिको जनताको विश्वास वृद्धि हुँदै नयाँ आशाको सञ्चार हुनेछ । गणतन्त्र संस्थागत गर्ने यो उपयुक्त विधि पनि हो । 

हामी जो जहाँ छौँ, इमानदार भएर देश र जनताको पक्षमा लागौँ । गणतान्त्रिक व्यवस्थालाई सुदृढ गरौँ । म पुनः गणतन्त्र दिवस २०८० को अवसरमा सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु । धन्यवाद ।

१५ जेठ, २०८०

रेखा शर्मा

      मन्त्री