• १२ मंसिर २०८१, बुधबार

आरोह–अवरोहका पन्ध्र वर्ष

blog

राजनीतिमा स्वतन्त्रता, प्रशासन यन्त्रमा सदाचारिता, समाजमा अनुशासन र व्यक्तिमा सच्चरित्रता लोकतान्त्रिक गणतन्त्रले खोज्छ । नेपालमा गणतन्त्र स्थापना भएपछि सर्वत्र बढ्दै गएको राजनीतिमा निरङ्कुशता, प्रशासन यन्त्रमा स्वेच्छाचारिता, अनुशासनहीन समाज र व्यक्तिमा उदण्डता जस्ता कुराले तेस्रो जनआन्दोलनको सर्वाधिक महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै आघात पर्न थालेको छ । आफू मात्रै ठिक र अरू सबै गलत भन्ने भावना राजनीतिक दल र नेतामा बढ्दै जाँदा पश्चगमनका पक्षमा रहेकाहरूलाई शिर ठड्याउने अवसर प्राप्त भइरहेको छ । नकारात्मक परिणामको सङ्ख्या वृद्धि हुँदै जाँदा गणतन्त्रका सकारात्मक परिणाम ओझेलमा पर्दै गएका छन् ।

आज गणतन्त्र प्राप्तिको पन्ध्र वर्ष पुग्दै छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् देश र देशवासीले के पाए र के गुमाए भन्ने बारेको बहस केही दिनदेखि चल्न थालेको छ र अबका केही दिन यस्तै छलफलमा बित्नेछन् । यी पन्ध्र वर्ष सफलतै सफलता र खुसी नै खुसीमा पनि बितेनन् र असफलताको माला मात्रै भिरेर बस्नु पर्ने बाध्यता पनि रहेको छैन । आजको दिन भनेको जनतामा थपिएको हर्ष अझ वृद्धि गर्न के गर्ने र आमनागरिकमा पैदा भएका निराशालाई आशामा कसरी बदल्ने भनेर चर्चा परिचर्चा गर्ने दिन हो । एकाथरिको उद्देश्य नकारात्मक परिणामलाई उचालेर गणतन्त्रलाई असफल साबित गर्नु रहेको देखिन्छ भने अर्काथरि सकारात्मक मात्रै कुरा गरेर थाक्दैनन् तर यी दुईका बिचबाट वास्तविकताको मूल्याङ्कन गर्दैै नवीन योजनाको तय गर्नु नै अबको आवश्यकता हो ।

राजाले बिदा लिएको पन्ध्र वर्ष भइसकेको छ । अब राजालाई दोष देखाएर राजनीतिक दल र दलका नेताले छुट्टी पाउने अवस्था पक्कै छैन । कुनै दिन पूर्वराजा दुलाबाट बाहिर निस्किए भने उनलाई देखाएर गणतन्त्रमाथि खतरा उत्पन्न भयो भनेर मुलुक हाँक्ने जिम्मेवारी पाएका नेताले सुख पनि पाउँदैनन् । यो गणतन्त्रको भविष्य अब राजकाज छाडेर बसेका पूर्वराजामा निहित छैन कि यसको जस र अपजसको सम्पूर्ण भागीदार पन्ध्र वर्षदेखि शासन सत्ता सह्मालेर बसेका दल र तिनका नेतृत्वले नै लिनुपर्ने हुन्छ । एउटा सर्वसाधारण नागरिकले जसरी सत्ताका विरुद्धमा आवाज उठाउन पाउँछ, त्यसैगरी बेथितिका विरुद्धमा पूर्वराजाले केही बोले भने गणतन्त्रका विरुद्धमा चलखेल सुरु भयो भनी नेताले भन्दैमा जनताले पूर्ण विश्वास गर्ने दिन बितिसकेको छ । त्यसैले सयौँ शहीद र हजारौँ योद्धाको सत्प्रयासबाट आर्जित गणतन्त्रलाई कुन दिशा दिने भन्ने जिम्मेवारी दलहरूमै रहेको छ ।

गणतन्त्र पूर्णरूपेण जवाफदेहिता बोकेको शासन प्रणाली हो । गणतन्त्र मात्रै भन्दा विविध अर्थ लाग्लान् भनेर नेपालमा स्थापित प्रजातान्त्रिक व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्र भनेर सम्बोधन गरिएको छ । लोकतन्त्रमा सर्वाधिकार सम्पन्न जनता हुन्छन् र तिनै जनताको अभिमत बोकेका जनप्रतिनिधिमा नै व्यवस्थालाई सुन्दर बनाउने दायित्व रहेको हुन्छ । यिनै जनप्रतिनिधि लापरबाही बन्दै गए भने दोष जति गणतान्त्रिक व्यवस्थामा जान्छ र यिनै प्रतिनिधि जिम्मेवार बनेमा विश्वमै सर्वोत्कृष्ट भनी मानिएको लोकतन्त्रले नेपालमा समेत यश प्राप्त गर्दछ ।

आफ्नो आचरणमा सुधार ल्याई अरूको शुद्ध आचरणको अपेक्षा लोकतन्त्रमा गरिन्छ । आफू व्यभिचारमा संलग्न हुने र अरूबाट सदाचारको आशा गर्नुलाई किमार्थ स्वीकार गर्न सकिँदैन । विशेषतः फिल्मको पर्दामा देखिएका नायकको चरित्रबाट दर्शकले केही कुरा सिक्ने प्रयास गर्दछन् भने खलनायकको चरित्रबाट कुनै पनि पाठ पढ्ने कोसिस गर्दैनन् । त्यस्तै देश हाँक्ने नेताहरूका आचरण अनुकरणीय हुनै पर्दछ र लोकतन्त्रमा यही नै अपेक्षा गरिएको हुन्छ ।

गणतन्त्र पूर्णिमाको चन्द्रमा जस्तै व्यवस्था हो । अझ सेतो बेदाग कपडा हो भने पनि हुन्छ । चन्द्रमामा कहिले कता काला दाग देखिन्छन् मान्छेको नजर त्यहीँ नै पर्दछ । सेतो कपडामा अर्को कुनै रङ्गको सानो धब्बा लाग्यो भने पूरै कपडामा कसैको ध्यान जाँदैन तर त्यही एउटा दागले ध्यान खिचिरहन्छ । त्यस्तै लोकतान्त्रिक गणतन्त्रमा जतिसुकै राम्रा प्रगतिका काम भए पनि यो कार्यकालमा भएका नराम्रा घटनामा मात्रै अधिकांशको ध्यान गइरहन्छ । निरङ्कुश शासनकालमा कालो दागलाई पनि शासकले भनेपछि सेतै छ भन्नु पर्ने बाध्यता थियो भने लोकतन्त्रमा कालोलाई कालै भन्न पाइने भएकाले बेथितिको बढी चर्चा हुने गर्दछ ।

पञ्चायतकालमा कति मूर्ति हराए ? कसले चोरे भन्ने पनि आँखैले नदेखे पनि जनताका मन–मनले भनिरहेका हुन्थे । राजाका पालामा एअरपोर्टमा समातिएको सुन सिधै दरबारमा जान्छ भन्ने हल्ला सुनिन्थ्यो । न त्यहाँ कारबाहीको कुरा चल्थ्यो न त कसले पचायो भन्ने आवाज आउँथ्यो । दोषीलाई कारबाही नभए पनि लोकतन्त्र भएका कारण ३३ किलो सुन प्रकरणका दोषी अझै संशयमा नै छन् । पञ्चायतकालमा नमिता–सुनिता काण्ड भयानक रूपमा पोखरामा घट्यो । त्यो घटनाका सम्बन्धमा न कसैले छानबिनको कुरा उठाउन पाए न कुनै टुङ्गोमा पु¥याउने प्रयत्न नै शासकले गर्नु प¥यो । गणतन्त्रमा निर्मला पन्त काण्ड घट्यो । यसले निकाश नपाए पनि आजसम्म पनि यसमा संलग्नको पर्दाफास गरी दोषीलाई दण्ड दिइनु पर्ने आवाज उठाउन पाइरहिएको छ । यही नै फरक हो एकतन्त्र र लोकतन्त्रमा तर आवाज उठाउन पाइएको छ भनेर मात्रै चित्त बुझाउने व्यवस्था पनि लोकतन्त्र होइन । परिणाम खोज्छ लोकतन्त्रले, त्यही सार्थक परिणामा नपाउँदा जनताको चित्त दुखेको पाइन्छ ।

गणतन्त्र प्राप्तिपछि अस्पतालको सङ्ख्या व्यापक रूपले वृद्धि भएको छ । अस्पतालमा रहेका शय्याको सङ्ख्यामा ज्यामितीय रूपमा वृद्धि भएकै छ । विश्वविद्यालयको सङ्ख्या दोब्बर हुन पुगेको छ । बिजुली बाल्न पाउनेको प्रतिशत पनि ९४ नाघेको बताइन्छ । दूरसञ्चार सेवाको विस्तार त्यत्तिकै द्रुतगतिमा भएकै छ । सडक सञ्जालको वृद्धि पनि उल्लेख्य नै छ । खानेपानी सुविधामा पनि बढोत्तरी नै छ । एयरपोर्टको सङ्ख्या पनि बढेकै देखिन्छ । अर्थात् पूर्वाधार विकासका क्षेत्रमा गणतन्त्र प्राप्ति पछि भएको प्रगतिलाई सामान्य रूपमा हेर्न हुने देखिँदैन ।

प्रश्न किन उठ्ने गरेका छन् भने अस्पतालको सङ्ख्या थपिए पनि चिकित्सक गाउँगाउँमा न्यूनतम आवश्यकतालाई परिपूर्ति गर्ने गरी पनि पुग्न सकेका छैनन् । शøया सङ्ख्या वृद्धि भए पनि सरकारी अस्पतालमा सहज रूपमा निमुखा जनताले स्थान पाउने अवस्थाको सिर्जना भइसकेको छैन । असाध्य प्रकृतिका रोग लाग्दा गरिब जनताले उपचारबिना नै मर्नु पर्ने अवस्था विद्यामान छ । दुर्गम गाउँमा त सामान्य रोगका औषधिको पहुँचबाट पनि नागरिक धेरै टाढा रहनु परेको यथार्थ सबैका सामु छर्लङ्गै छ । विश्वविद्यालयको सङ्ख्या त थपिएको छ तर त्यहाँको गुणस्तर पहिलेको भन्दा ओरालो लागेको छ । दलहरूको सङ्ख्या र तिनका भ्रातृ सङ्गठनको सङ्ख्या थपिँदै जाँदा विश्वविद्यालयमा हड्ताल हुने दिनमा पनि वृद्धि हुँदै गएको छ ।

बिजुलीको तार र पोल गाउँगाउँमा पुगे पनि लोडसेडिङगमुक्त बिजुली अझै पुगेको छैन । भारतमा तीन रुपियाँ प्रति युनिटमा नेपाली बिजुली बेच्ने र नेपालीले भने प्रति युनिट १२ रुपियाँ तिर्नुपर्ने विवशताको अन्त्य कहिले हुने हो ? सरकारी पाइपबाट घरमा झरेको पानी सिधै धारामा मुख थापेर प्यास मेट्न पाउने अवस्था पनि आउन सकेको छैन । सडकको लम्बाइ बढ्दै गए पनि गुणस्तरको प्रश्न यथावत् नै छ । एयरपोर्ट बनाइन्छ तर त्यहाँ प्लेन उड्न र ओर्लन सक्ने वातावरण तयार गरिँदैन । अर्थात् भएका विकास पनि लथालिङ्ग पाराका भएकाले गणतन्त्रमाथि प्रश्न उठ्ने गरेको छ ।

गणतन्त्रले जनतालाई सचेत बनाएको छ । त्यसैले अब जनताले भाषण मात्र होइन, सरकारबाट सेवा खोज्न थालेका छन् । कुरा गर्ने दल र नेता होइन काम गर्ने व्यक्ति भएको दललाई प्राथमिकतामा राख्नु पर्दछ भन्ने भावना आमनागरिकमा पैदा भइसकेको छ । गणतन्त्रका प्रतीक भन्दै ठड्याइएका ठुलाठुला स्तम्भ र पार्क होइन कि डेनमार्क जस्तै भ्रष्टाचारविरुद्धको सूचकमा ९९ अङ्क प्राप्त गर्ने मुलुक नेपाललाई बनाएर देश र जनता नै प्रतीक बनेको हेर्न चाहेका छन् । देशमा नयाँ नयाँ उद्योगहरू खुलेको र भएका उद्योग नै सुसञ्चालित हुने वातावरण निर्माण गरेर देशमा वृद्धि भएको रोजगारीलाई स्तम्भका रूपमा ठडिएको देख्ने रहर जनताको छ ।

गणतन्त्रले समावेशी र समानुपातिकको सिद्धान्त अनुकरण गरेर बहिष्करणमा परेकालाई अवसर दिने बाटो खोल्यो तर समावेशीका नाममा उही हुने खाने वर्गकै हालीमुहाली भएकाले जनताको चित्त बुझ्न सकेको पाइँदैन । अझ समावेशीका नाममा राजनीति र समाजसेवामा कुनै योगदान नै नभएका ठुला नेताका परिवारका सदस्यलाई मौका दिइने प्रचलन बढ्दै गएकाले व्यवस्था माथि नै औँला ठड्याउनेलाई अवसर मिल्दै गएको छ । अर्थतन्त्र ओरालो लागिरहँदा पनि नेताहरूमा संवेदनशीलताको कमी देखिँदा जनतामा निराशाको भावना बढ्दै गएका देखिन्छ ।

तीन ठुला दलका नेता दिनदिनै भेट गर्दा आशङ्का गर्नेहरूको जमात बढ्दै गएको त दलहरूले बुझेकै हुनु पर्छ । अब यी नेताको भेट मुलुकले धान्न नसक्ने गरी व्यवस्था गरिएको सांसद् सङ्ख्या घटाउने तर्फ ध्यान दिई जनतालाई राहत दिने तर्फ केन्द्रित छ भन्ने सन्देश दिन सकेमा जनतामा थोरै भए पनि आशाका किरण पलाउने थिए । प्रदेशमा जथाभावी मन्त्री सङ्ख्या बढाएर देशको खर्च बढाउने वा जनताले तिरेको करमा रजाइँ गर्ने प्रवृत्तिको अन्त्य गर्न नेताको भेटघाट बाक्लिएको सन्देश दिन सके राम्रै हुने थियो ।

लोकतन्त्रमा अदालत, सरकार या प्रशासनले निर्दोष या दोषी साबित गर्दैमा त्यही जनताले मान्छन् भन्ने हुँदैन । नेताले आफूलाई चोखै छु या आफ्ना दलका नेतालाई भ्रष्टाचारमुक्त छ भन्दैमा त्यही प्रमाणित हुन्छ भन्ने पनि छैन । जनताका मनले के भनेको छ र के भन्छ भन्ने मुख्य कुरा हो । आशा गरौँ, भोलिका दिनमा शासन सत्तामा रहेकाहरूले यस्ता विषयमा सचेत भएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका सम्बन्धमा राम्रो सन्देश दिन प्रयत्न गर्नेछन् । जनताका मुहारमा हाँसो ल्याउने प्रयत्न गर्नेछन् ।

लेखक सहप्राध्यापक हुनुहुन्छ ।

  

Author

डा शान्तिकृष्ण अधिकारी