• ६ वैशाख २०८१, बिहिबार

भोक्राहामा निःशुल्क स्वास्थ्य बीमाकार्ड वितरण

blog

भोक्राहा नरसिंह गाउँपालिकामा निःशुल्क स्वास्थय बीमाकार्ड वितरण कार्यक्रमका सहभागीहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, जेठ १२ गते । गरिब तथा विपन्न परिवारको स्वास्थ्य अधिकारलाई ध्यानमा राखेर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले ३५० जना घरपरिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमाकार्ड वितरण गरेको छ । 

अकालमा ज्यान नजाओस् र स्वास्थ्य सेवामा सहज पहुँचका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि निःशुल्क कार्ड वितरण गरेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खतर आजादले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो कार्यक्रम अन्तर्गत तेस्रो पटक अति गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर बीमाकार्ड वितरण गरेको हो । 

स्थानीय निर्वाचनको समय भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार भएकाहरूले चारसय जना घर–परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रतिबद्धताअनुसार बीमाकार्ड वितरण गरेको अध्यक्ष आजादले जानकारी दिनुभयो । गाउँपालिकाले पहिलो पटक वडा नम्बर ३ का ५० जना घर–परिवार, दोस्रो पटकमा वडा नम्बर २ र ४ का १५० जना घरपरिवार, तेस्रो पटकमा १५० परिवार गरी ३५० घर–परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमाकार्ड वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य बीमा संयोजक असफाक आलमले जानकारी दिनुभयो । 

बाँकी रहेका ५० जना घर–परिवारलाई असारमा दोस्रो हप्तामा कार्ड वितरण गर्ने स्वास्थ्य बीमा संयोजक आलमले बताउनुभयो । स्वास्थ्य बीमाकार्ड वितरण कार्यक्रममा अध्यक्ष अजमल अख्तरले स्वास्थ्य उपचार हुनबाट कोही पनि वञ्चित नहोस् र कसैको उपचार नभएर आकालमा मृत्यु नहोस् भनेर बीमा गरिएको बताउनुभयो । 

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, उपाध्यक्ष सुनिता उराँव, वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी, वडा नम्बर ८ का वडा अध्यक्ष उस्मान अन्सारी, स्वास्थ्य शाखाका हिरालाल साह र स्वास्थ्य विमितहरुको उपस्थिति रहेको थियो ।