कविराज घिमिरे
हिले, जेठ ११ गते । मोरङ पाटीगाउँको थामडाँडाकी कल्पना राईलाई अहिले दैनिक करिब दुई सय लिटर पानी आवश्यक पर्छ । हिउँदसम्म बर्खाको पानीले जसोतसो धाने पनि अहिले भने उहाँले घण्टौँ हिँडेर टाढाबाट पानीको जोहो गर्नुपर्ने अवस्था छ । अहिले उहाँका घर वरिपरि करिब दुई हजार खाली बोतल फालिएका छन् । बर्खामा आएको पानी उहाँले त्यही बोतलमा हिउँदका लागि जोहो गर्नुभएको थियो । हिउँदमै ती बोतलको पानी रित्तिएपछि उहाँको दिनचर्या पानी ओसारेरै बित्ने गरेको छ । आफूलाई खान मात्र नभई बस्तुभाउलाई खुवाउन घरधन्दा गर्नसमेत पानी ओसार्नुपर्छ । “पानी लिन करिब दुई घण्टा टाढा जानुपर्छ, घरको एक जनाको समय प्रत्येक दिन पानीको जोहो गर्दै बित्ने गरेको छ,” राईले भन्नुभयो ।
सोही स्थानका मोहन राईको पनि समस्या उस्तै छ । बर्खामा हिउँदका लागि जोहो गरेको पानी सकिएपछि उहाँलाई अहिले पानी कसरी जुटाउने भन्ने मुख्य चिन्ताको विषय बन्ने गरेको छ । बितेको बर्खामा दुई र साढे दुई लिटरका करिब दुई हजार वटा बोतलमा उहाँले पानीको जोहो गर्नुभएको थियो । अहिले ती बोतल रित्तो भएर घर वरिपरि फालिएका छन् । आकाशबाट पानी परिहाले अलिअलि बोतलमा अहिले पनि उहाँ भर्नुहुन्छ तर अहिले आएको पानीले एक दिनभन्दा बढी नपुग्ने उहाँको भनाइ छ । उहाँले यो बर्खामा घर आसपासमा जम्मा भएकोे पानी बोतलमा भरेर हिउँदका लागि जोहो गर्नु छ । “बर्खाको पानी सकिहाल्यो अहिले पानी ओसार्नै पर्छ, अहिले आकाशे पानीले एक दिन पनि टर्दैन,” उहाँले भन्नुभयो ।
यो क्षेत्रमा पानीको समस्या अहिलेदेखिको हैन । पहिलेदेखि नै पानीको समस्या रहेको स्थानीय बासिन्दा बताउँछन् । पहिले पहिले खोला खोल्सीबाट पानी बोकेर ल्याएर जोहो गर्ने गरिए पनि पछिल्लो समय ड्रम, विभिन्न पेय पदार्थका बोतल पाउन थालेपछि केही वर्षयता स्थानीय बासिन्दाले बर्खाको पानी जोहो गर्न थालेका हुन् । कपडा धुन, सिँचाइ तथा बस्तुभाउलाई त्यही जम्मा गरिएको पानी प्रयोग हुन्छ । खानेपानीको कुनै पनि स्रोत नभएकाले हिउँदमा पानीको सङ्कट टार्न यस गाउँका बासिन्दाले बर्सातको समयदेखि नै यसरी बोतलमा पानी भरेर राख्ने गरेका छन् तर सो जोहो गरेको पानी सकिएपछि दैनिकी भने कष्टकर बन्न पुग्छ ।
यो गाउँ दक्षिणी धनकुटा र उत्तरी मोरङको सीमा क्षेत्रमा पर्छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ र मोरङको केराबारी गाउँपालिका एक पाटीगाउँमा पर्ने यो क्षेत्रमा बर्खाको समयबाहेक अन्य समयमा खानेपानीको हाहाकार हुन्छ । डाँडामा रहेको यो बस्तीमा हिउँदका लागि बर्खामै बलेसी तथा नजिकैको अन्य स्रोत प्रयोग गरी पानी जम्मा गरेर राख्नुपर्छ । ड्रम, घैँटो र बोतलमा राखेको पानीकै भरमा यहाँका बासिन्दाको करिब छ महिना गुज्रने गरेको छ ।
यो क्षेत्रमा मोरङको केराबारी गाउँपालिका–१ तर्फ थामडाँडा सुर्के र जैतुन पार्क गरी तीन टोलमा करिब सय परिवारको बसोबास छ । त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकातर्फका चुलीध्वजे, पल्लोध्वजे, बालुवाटार, भद्राक्ष, ओडारे टोलमा करिब १५० परिवार बसोबास गर्दै आएका छन् । दुवै जिल्लाका २५० परिवारका करिब हजार व्यक्तिले कुनै न कुनै रूपमा पानीको यो समस्या भोग्दै आएका स्थानीय विजय राई बताउनुहुन्छ ।
त्यसो त यो ठाउँमा खानेपानी ल्याउन लिफ्ट खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ । अहिले पनि सो क्षेत्रका लागि सुनसरी डिभिजन खानेपानी कार्यालयको सहयोगमा करिब दुई करोड रुपियाँको लागतमा स्थानीय खोलाबाट लिफ्ट गरी पानी ल्याउने तयारी गरिएको छ । जसका लागि जैतुन पार्क क्षेत्रमा एक लाख २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ बाट सुरु भएको सो लिफ्ट आयोजनाको ट्याङ्की निर्माणबाहेक अन्य काम अघि बढ्न सकेको छैन । अढाइ वर्षको अवधिमा करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको निर्माण समितिका अध्यक्ष सिर्जन राई बताउनुहुन्छ । ५० प्रतिशत काम भएपछि मुख्य काम भने बाँकी नै रहेको उहाँको भनाइ छ । पानी तान्ने पम्प अहिलेसम्म आएको छैन । त्यस्तै लाइन विस्तार र बिजुली जडानको कामसमेत बाँकी नै रहेको राईले बताउनुभयो । पैसा थोरै आउँछ काम गर्न समस्या भएको उहाँको गुनासो छ तर पनि २०८० सालमै पानी खान पाइन्छ कि भन्ने आशमा स्थानीय बासिन्दा छन् ।
त्यसो त केही वर्षअघि विदेशी दाताको सहयोगमा स्थानीय ध्वजेडाँडामा कुहिरोबाट पानी सङ्कलन गर्ने परियोजना निर्माण गरिए पनि त्यो सफल हुन नसक्दा स्थानीय बासिन्दाको समस्या लम्बिएको हो । सो क्षेत्रका बासिन्दालाई समयमै पानी खुवाउन आफूले पनि पहल गरिरहेको धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो । “मेरो पहिलो प्राथमिकता नै खानेपानी हो, हामीले सक्ने ठाउँमा हामी आफ्नै लगानीमा योजना सञ्चालन गर्छौं नसके प्रदेश र सङ्घसँग सहयोग मागेर पानी खुवाउँछौँ । आयोजना समयमै सम्पन्न गर्न पनि पहल गरिरहेको छु,” उहाँले भन्नुभयो ।