• २८ पुस २०८१, आइतबार

मेडिकल कलेजलाई विशिष्टीकृत बनाइने

blog

काठमाडौँ, जेठ ११ गते । नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेको स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ (विशिष्टीकृत) अवधारणा अनुसार विस्तार गरिने भएको छ।

विसं २०६८ मा काठमाडौँको सानोभ-याङमा स्थापना भएको स्वास्थ्य विज्ञान संस्थानमा हाल चिकित्सा शिक्षा महाविद्यालय र नर्सिङ शिक्षा महाविद्यालयमा चिकित्सा विषय पठनपाठन हुँदै आएको छ।  

संस्थानको ११ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले यस संस्थानलाई आवश्यक पूर्वाधार र प्रविधियुक्त बनाई ‘सेन्टर फर एक्सिलेन्स’ अवधारणा अनुरूप थप विस्तार गरिने बताउनुभयो।

उहाँले चिकित्सा विज्ञानमा दैनिक नयाँ प्रविधिको विकास भइरहेको धारणा व्यक्त गर्दै समय अनुकूल प्रविधि र पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो। सेनापति शर्माले मेडिकल शिक्षामा पछिल्लो समय आविष्कार र प्रयोग भएका प्रविधि उपलब्ध गराई संस्थानलाई सर्वोत्कृष्ट  मेडिकल शिक्षाको केन्द्र बनाउने तयारी भइरहेको जानकारी दिनुभयो।

सैनिक कल्याणकारी सोच अनुरूप कल्याणकारी कोषबाट सञ्चालित  महाविद्यालयमा बहालवाला सैनिक तथा आश्रित परिवारका सन्ततिका लागि ४९ प्रतिशत र सर्वसाधारणका छोराछोरीका लागि ५१ प्रतिशत कोटा निर्धारण गरिएको छ।

यस मेडिकल कलेजमा चिकित्सा शिक्षातर्फ ७३४ विद्यार्थी अध्ययनरत छन्। ५९० विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन्। त्यसै गरी नर्सिङ शिक्षातर्फ एक हजार १०९ विद्यार्थी अध्ययनरत रहेको र एक हजार ८२ विद्यार्थीले अध्ययन पूरा गरेको संस्थानले जनाएको छ।  

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले मेडिकल शिक्षामा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा दिव्या सिंहले नेपाली सेनाले अनुशासित र योग्य जनशक्ति उत्पादन गरेकोमा प्रशंसा गर्नुभयो।

समारोहमा चिकित्सा शिक्षातर्फ सर्वोकृष्ट नतिजा हासिल गर्ने रिया जसवाल, मनीषा दाहाल, अनुष्का कार्की, पार्वती दनै, रचना श्रेष्ठ, सजनी लामा, रन्जु अधिकारी र विनिता थापालाई तक्मासहित नगद पुरस्कार प्रदान गरियो।