गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनका कारण अर्थतन्त्रका समग्र पक्षमा चुनौती थपिन थालेको बताउनुभएको छ ।
विश्व व्यापार सङ्गठन (डब्लुटिओे) र काठमाडौँ विश्वविद्यालयले शनिबार राजधानीमा आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवं पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताउनुभयो । “त्यसैले कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रको समेत विकेन्द्रीकरण गरी आपूर्ति शृङ्खलामा समेत विविधीकरण गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
जलवायु र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेकाले सबै मुलुक मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने उहाँको धारणा थियो ।
जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि नेपालले गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उहाँले बताउनुभयो । “ठुलो लगानीमा निर्माण गरेका पूर्वाधारमा बर्सेनि आउने प्राकृतिक विपत्ति बाढीपहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति शृङ्खलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखेर जलवायुमैत्री विकास प्रक्रियामा क्रियाशीलता जरुरी छ,” उहाँले भन्नुभयो ।
आर्थिक वृद्धिको इन्जिनका रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पारेकाले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाको सम्बोधनका लागि सम्मेलन उपयोगी हुने उहाँको भनाइ थियो । दक्षिण एसिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको र भविष्यमा यसले ठुलो आर्थिक एवं सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग हुनुपर्ने उहाँको धारणा थियो ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउन सक्ने चुनौतीलाई सामना गर्ने गरी जलवायु स्मार्ट कृषिको प्रभावकारी कार्यान्वयनको रणनीति बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
जलवायु परिवर्तनले प्रचुर सम्भावना भएको स्वच्छ ऊर्जाको उत्पादन, विकास एवं अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले अन्तर्राष्ट्रिय साझेदारी उत्तिकै आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासका लागि टेवा पुग्ने बताउनुभयो । “जब व्यापारमा दिगोपनको कुरा गर्छौं, त्यहाँ राजस्व र करको कुरा मात्र नभएर लगानी बढी गर्ने प्रणालीको विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । नवीकरणीय ऊर्जा व्यापार र हरित अर्थतन्त्रको सन्दर्भमा दक्षिण एसियाको व्यापारलाई न्यायोचित र सन्तुलित तरिकारले प्रवर्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।
सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेसनल ट्रेड ल एन्ड आर्बिटेसन इस्टबुल विलगि युनिभर्सिटीका निर्देशक डा. एन पिनर आर्टिरनले जलवायु परिवर्तन र वातावरणीय दिगोपनालाई ध्यानमा राखेर नेपालले व्यापारलाई अघि बढाउनुपर्ने सुझाव दिनुभयो । कृषि, पर्यटन, व्यापार पूर्वाधार जस्ता विषयमा अध्ययन अनुसन्धान गर्र्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको सुझाव थियो ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायु परिवर्तनका क्षेत्रमा रहेका समस्या र चुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “जलवायु परिवर्तन र दिगोपनालक्षित स्रोतको परिचालन र व्यवस्थापनमा अगाडि बढेका छौँ, जोशीले भन्नुभयो, “नीति निर्माण र कार्ययोजनामार्फत व्यापार प्रवर्धन गर्न अध्ययन अनुसन्धानले सहयोग पुर्याउँछ ।” आइतबारसम्म चल्ने सम्मेलनमा विभिन्न नौ देशका प्रतिनिधिको सहभागिता रहेको छ ।