बर्दीबास समाचारदाता
बर्दीबास, वैशाख ८ गते । सीमावर्ती मटिहानी नगरपालिका जरलहवा टोलमा सशस्त्र प्रहरीले स्थानीयको सहभागितामा आइतबार आगलागीसम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ ।
मुस्लिम समुदायको घना बस्ती रहेको यो वडामा गत वर्षको वैशाखमा भएको आगलागीबाट १०२ घर खरानी हुँदा ५७० परिवार प्रभावित भएका थिए । १० वटा वारुणयन्त्र र तीन सयभन्दा बढी सुरक्षाकर्मीले घन्टौँपछि आगलागी नियन्त्रणमा लिन सकेका थिए । आगलागी हुने कारणमा खरको छानो, बाक्लो बस्ती, साँघुरो बाटो र लापर्बाहीले आगलागी भएको थियो । तत्पश्चात् पनि आगलागीको त्रासदी यथावत् रहेकाले सशस्त्र प्रहरीले स्थानीयलाई आगलागीबारे सचेत गराउन बस्तीमै पुगेर चेतनामूलक कार्यव्रmम गरेको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति पुरनचन्द्र भट्टले बताउनुभयो ।
सकेसम्म आगलागी हुनै नदिने, भइहाले कसरी नियन्त्रण गर्ने, चुलो र ग्यास र गोठघरमा बालिने घुरलाई कसरी सुरक्षित राख्नेलगायतका प्रयोगात्मक जानकारी सो अवसरमा गराइएको थियो । खाना पकाएपछि आगो निभाउने, डोल बाल्टिनमा पानी राख्ने, घरमाथिबाट गएका विद्युत् तार व्यवस्थापन गर्न तथा चुलो र गोठमा बालिएको घुर सुत्नुअघि अनिवार्य निभाउन सजग गराइएको थियो ।