• २७ पुस २०८१, शनिबार

पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु

blog

क्वेटा,पाकिस्तान, पुस २७ गते । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार जना कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्युजले जनाएको छ । 

एआरवाई न्युजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ ।

घटना बिहीबार स्थानीय समय अनुसार ४:०० बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए । एआरवाई न्युजले रिपोर्ट गरेको अनुसार फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ । 

अहिलेसम्म बरामद गरिएका शवहरू तीन हजार फिट गहिराइमा थिए । विस्फोटका कारण खानी भत्किएको थियो र उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गर्न काम गरिरहेका छन् । एआरवाई न्युजका अनुसार चुनौतीपूर्ण मौसमका कारण सहयोगमा जटिलता आएको छ ।

यस्तै एउटा घटना मार्च सन् २०२४ मा बलुचिस्तानको हरनाईमा रहेको कोइला खानीमा १८ जना खानीमा फसेको थियो । उद्धारकर्ताहरूले सफलतापूर्वक १२ शवहरू निकाले र छ जना घाइतेहरूलाई उद्धार गरियो । रासस/एएनआई