• ४ असार २०८२, बुधबार

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी खुल्यो

blog

एकतर्फी सञ्चालनमा आएको कालीगण्डकी करिडोर सडकखण्ड । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, असार ४ गते ।
गुल्मीको कालीगण्डकी गाउँपालिका– ६ बर्लाबास्थित कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । पहिरोका कारण सोमबारदेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबार साँझदेखि एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार सोमबार दिनभर पहिरो खसेको थियो । निकै लामो प्रयासपछि सडक एकतर्फी खुलेको हो ।

यहाँबाट पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भइरहेको थियो । ठुलो चट्टानसहित खसेको सुख्खा पहिरोका सडक सडक दुईतर्फी सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधनले वैकल्पिक सडक प्रयोग गरेका छन् ।