सडक कार्यालयकै उच्च कर्मचारीको मिलेमतोमा पुलको डिजाइन स्थलगत अध्ययन विना नै कोठाभित्र भएकोले गर्दा यस्तो समस्या भएको स्थानीयको आरोप
तनहुँ, पुस २८ गते । लामो समय देखि पुल निर्माण नहुनु तथा सडक स्तरोउन्ती नभएपछि गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दुरीको बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित भएका छन् । आन्दोलित बासिन्दाले सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिएका छन् ।
यो मार्गमा पर्ने आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्ष सम्म पनि पुरा नहुनु र अन्य चार खोलाहरूमा पुल नहुँदा आवतजावतलाई समस्या भएकोले स्थानीय आन्दोलित सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताउनुभयो । शनिवार मार्गमा धर्ना दिई सकिएको माघ १४ सदरमुकाम दमौलीमा धर्ना दिइने र माग पुरा नभए थप कडा आन्दोलन गरिने उहाँले बताउनुभयो ।
डिजाइनमै करोडौँ राज्यको खर्च भएको र गलत डिजाइनको करोडौँ खर्च छानबिन गरेर डिजाइन कम्पनीबाटै असुलउपर गर्नुपर्ने
उपभोक्ताले बन्दै गरेको वा बन्ने प्रक्रियामा रहेको पाँच वटा मोटरेवल पुलको निर्माण कार्यलाई गति दिन माग गरेका छन् । उक्त मार्गमा रहेका नदी खोलामा पुल निर्माणका लागि दबाब दिन स्थानीय स्तरबाट गठित राज्यको उदासीनता र ठेकेदारको लापरबाहीले गर्दा घुमाउनेमा निर्माणाधीन पुल ११ वर्षदेखी अलपत्र रहेको मगर बताउनुहुन्छ । उहाँले घुमाउने पुल सहित सुँढेखोला पुल, ढाँडखोला पुल, खानी खोला पुल, बगर खोला पुल र भूतखोला पुलको निर्माणमा ढिलासुस्ती भएकोले अन्त्य गर्न स्थानीय जनताले दबाब दिन थालेको बताउनुभयो । मगरले ग्रामीण क्षेत्रका सर्वसाधारण जनतालाई जे गरे पनि हुन्छ भन्ने मानसिकताले निर्माण कार्यमा ढिलाइ भइरहेकोले आन्दोलनमा उत्रिन बाध्य बनाइएको उहाँले बताउनुभयो ।
राज्यको उदासीनता र ठेकेदारको लापरबाहीले गर्दा घुमाउनेमा निर्माणाधीन पुल ११ वर्षदेखि अलपत्र
तनहुँको यस विकट भेगबाट ठूलाठूला ओहोदाका नेताहरू पाए तर जनताले प्रत्यक्ष अनुभूति हुने गरी विकास हाल सम्म नपाएको गुनासो गर्नुभयो । घुमाउनेमा पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिलर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटक पटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएको स्थानीयले गुनासो गरेका छन् । डिजाइन एन्ड बिल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ ।
आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ। हेडौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडक कार्यालयकै उच्च कर्मचारीको मिलेमतोमा पुलको डिजाइन स्थलगत अध्ययन विना नै कोठाभित्र भएकोले गर्दा यस्तो समस्या भएको स्थानीयको आरोप छ । डिजाइनमै राज्यको करोडौँ खर्च भएको र गलत डिजाइनले गर्दा भएको राज्य कोषको करोडौँ खर्च छानबिन गरेर डिजाइन कम्पनीबाटै असुलउपर गर्नु पर्ने स्थानीयवासीले माग गरेका छन् ।
सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन । सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठले पुलको डिजाइन परिवर्तन गर्न लागिएको पुल निर्माणको काम रोकिएको बताउनुभयो । अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएको राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागेको श्रेष्ठ बताउनुहुन्छ । निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुलको कामले गति लिन नसकेको सम्बन्धित निकायमा पनि पटक पटक ध्यानाकर्षण गराइएको भए पनि एक दशक सम्म पनि पुल अधुरो रहेको आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष दिलीप गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘अनेक वाहाना बनाएर पुल निर्माणमा ढिलाइ गरिएको छ अति नै भएकोले दबाब दिन आन्दोलन गर्नुपर्ने देखिएको छ ।’ दमौलीबाट घुमाउने घाटमा पुल बन्दा नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरीभन्दा ३० किलोमिटर छोटो हुने भएकोले इन्धन आयातमा धेरै रकम जोगाउन सकिने पुल चाँडै निर्माण गर्नुपर्ने वडाध्यक्ष गुरुङको भनाइ छ ।
पुलको निर्माणपछि नारायणगढ आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिङसम्मको थप ३० किलोमिटर सडक प्रयोग गर्नुपर्दैन ।